२०८१ असोज ३ गते बिहिवार

तुलसीपुर–कपुरकोट बैकल्पिक मार्ग निर्माणको अन्तिम चरणमा

सल्यान, पुस १५ । दाङको तुलसीपुरबाट कपुरकोट जोड्न बैकल्पिक मोटरबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका ३ सातबाससम्म जोड्ने लक्ष्यसहित सल्यानको कपुरकोट गाउँपालिकाले मोटरबाटो निर्माण गरिरहेको छ । कपुरकोट पाखापानी हुँदै धैरेनीदेखि सातबाटसम्म मोटरबाटो पुग्न अव केही मिटर मात्रै बाँकी रहेको छ ।

पाखापानी धैरेनी खारखोला मोटरबाटोको बुधबार कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले अनुगमन गरेका छन् ।मोटरबाटो निर्माण भएसंगै लामिडाँडा, पाखापानी, गाँडापानी, धनवाङ लगाएतका क्षेत्रका सर्वसाधारण खुसी भएका छन्। तरकारी उत्पादक स्थानीय किसान झनै खुसी छन् । उत्पादित कृषिजन्य वस्तु बजारसम्म लैजान र बजारबाट आवश्यक बस्तु घरसम्म ल्याउन सहज हुन थालेको सल्यान कपुरकोट ४ गाँडापानीका गोविन्द विकले खुसी व्यक्त गरे ।

‘यति छिट्टै यहाँ मोटरबाटो आइपुग्ला भन्ने सोँचेका थिएनौँ, तर गाउँपालिकाले बाटो ल्याइदियो,’ उनले भने ‘ सातबाससम्म मोटरबाटो जोडियो भने दाङको तुलसीपुर जान निकै सहज हुने छ ।’ कपुरकोट ३ धैरेनीका ८९ वर्पीय केवल बोहोराले आफ्नो बस्तीसम्म मोटरबाटो आउला भन्ने कल्पना समेत नगरेको भन्दै बुढेसकालमा घर नजिकै बाटो आएकोमा खुसी ब्यक्त गरे ।गाउँपालिकाको ७ लाख रुपैयाँको लगानीमा मोटरबाटो निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हुकुम बुढाथोकीले बताए ।

दाङको सिमानासम्म जोड्न अव २ सय मिटर जति मात्रै बाँकी रहेको उनले बताए । यो बाटो निर्माण भएमा तरकारी तथा फलफूल राम्रो उत्पादन हुने धैरेनी क्षेत्रका किसानले लाभ लिने अपेक्षा गरिएको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष ससिला बुढाथोकीले बताइन् ।
गाउँपालिकाले लामिडाँडाबाट सातबाससम्म सडक निर्माणका लागि यस वर्ष मात्रै १० लाख रुपैंया विनियोजन गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष सेनले अव मोटरबाटो संगै क्रमिक रुपमा विद्युत विस्तार, सिंचाइको लागि कुलोको ब्यवस्थापन गरिने जनाए । उनले बुधबार नै कपुरकोट ३ पाखापानीमा निर्माणाधीन गाउँघर क्लिनिक र खानेपानी ट्यांकीको पनि अवलोकन गरेका छन् । गाउँपालिकाको ४ लाख अनुदानमा गाउँघर क्लिनिक र ३ लाख अनुदान सहयोगमा टं्याकी निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *