तुलसीपुर,पुस १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा मध्यरातमा गोरु बोकेर बाहिर लैजान लागेको ट्रक स्थानीयले नियन्त्रणमा लिएका छन् । अवैद्य रुपमा गोरु तस्करी भइरहेको भन्ने सूचनाका आधारमा स्थानीय भेला भएर प्रहरी समेतलाई गुहारी २६ वटा गोरु बोकेको ना ६ ख ७३०२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ ।
यो खबर तयार पार्दासम्म गोरु अहिले पनि अस्थायी प्रहरी पोष्ट दमारगाउँ निजकै ट्रक भित्रै रहेको स्थानीय चेतकान्त गिरीले फरककोणलाई बताए । ‘गोरु मापदण्ड बिपरित खाँदेर ट्रकमा लोड गरिएको अवस्था छ,’ गिरीले भने ‘ हामीले प्रहरी प्रशासनलाई गुहार्दा सम्म प्रहरीले केही गरिरहेको छैन।’
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले ट्रकसहित ४÷५ जना मानिसहरु पक्राउ परेको तथा उनीहरुका विरुद्ध मुद्दा चलाउने जानकारी दिए । एसपी सिंहले प्रहरीलाई गोरु ओसोर पसार गर्दा नरोक्नु भन्ने केन्द्रको आदेश भएको हुँदा केही गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ स्थानीयलाई दिने गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले गोरु नियन्त्रणमा लिएपनि ती गोरु कहाँ पठाउने ? भन्ने समस्या उत्पन्न भएको बताए । वडा नं. १३ का जनप्रतिनिधिलाई खवर गरेर गोरुको व्यवस्थापन गर्न आग्रह गरिरहेको र त्यहा संभव नभए तुलसीपुर उपमहानगरपालिकालाई गोरु बुझाउने डिएसपी सिंहले जानकारी दिए ।
‘ म आएदेखि ११ जना गोरु तस्कर विरुद्ध मुद्दा चलाई सकेको छु,’ सिंहले भने ‘तर, प्रहरीले मुद्दा चलाएपनि हाम्रो केही लाग्दैन । अदालतले हामीलाई मुद्दामा हराई दिन्छ ।’त्यसरी गोरु तस्करी गर्नेहरुले कागजमा कृषि प्रयोजनका लागि भनेर गोरु लैजाने गरेको हुँदा प्रहरीले रोकेपनि केही गर्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरुले बताउने गरेका छन् । यसअघिपनि पश्चिम दाङका विभिन्न स्थानबाट गोरु तस्करी हुने गरेको भन्दै स्थानीयले त्यो रोक्न माग गर्दै आएका छन् ।