देउखुरी, पुस १३ । दाङ जिल्ला विपद् पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजना दाङले समुदायमा उद्धार तथा प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले यूएसएआईडीको आर्थिक सहयोग र प्राक्टिल एक्सनको साझेदारीमा संकटासन्न समुदायमा गठित समुहहरुमा सोमबार खोज तथा उद्धार र प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्ला विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका परियोजना संयोजक सन्तोष ढकालले विपदको समयमा अति आवश्यक पर्ने उद्धार र प्राथमिक उपचारका दूई लाख बराबरका बिभिन्न ४४ थान सामाग्रि वितरण गरिएको जानकारी दिए ।
लमही नगरपालिका वडा नं. ८ सतबरियामा भएको सामाग्री हस्तान्तरण कार्यक्रम वडाध्यक्ष मेघनारायण चौधरीको अध्यक्षता र रेडक्रस उपशाखा दाङका उपसभापति मदन गौतमको प्रमुख आथित्यमा भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गौतमले बिपद परियोजनाले संकटासन्न समुदायका व्यक्तिहरुलाई बिपदबाट जोगिने उपाए सिकाएको भन्दै जीवन भर त्यो ज्ञान र सीपलाई मानव सेवाको लागि सदुपयोग गर्न आग्रह गरे ।
विपदमा कसरी उद्धार गर्ने, कसरी पूर्व तयारी गर्ने, विपदको कसरी सामना गर्ने भन्ने बारेमा विपद परियोजनाले विभिन्न तालिमहरु दिएको, आवश्यक उद्धार, खोज र प्राथमिक उपचारका सामाग्रीहरु प्रदान गरेर समाजलाई ठूलो गुण लगाएको बताए । बिपदसंग सामान गर्न अब बिपदको क्षेत्रमा स्थानीयको ध्यानकेन्द्रीत हुनुपर्ने उनले जोड दिए ।
त्यस्तै लमही नगरपालिकाकी बिपद सम्पर्क व्यक्ति गायत्री थापाले बिपद परियोजनाले उपलब्ध गराएका सामाग्रीहरु स्थानीय निकायका लागि समेत महत्वपूर्ण उदाहरण भएको बताइन । उनले स्थानीय तहरुले समेत अब बिपद व्यवस्थापनका लागि यस्तै सामाग्रीका साथ तयारी थाल्न जरुरी रहेको बताइन ।
त्यसक्रममा धनपुरुवा बिपद व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रशाद चौधरीलाई वडाध्यक्षको रोहबरमा रहनेगरि बिभिन्न २२ प्रकारका खोज तथा उद्धार र प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरण परियोजनाका परियोजना संयोजक सन्तोष ढकालले गरेका हुन ।
त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रम सोमवार राप्ती गाउँपालिका वडा नं. ६ बगारापुरमा गठित समुदाय विपद व्यवस्थापन समितिलाई पनि प्रदान गरिएको छ । बगरापुर सामुदायिक बिपद व्यवस्थापन समितिका संयोजक हरिचन्द्र चौधरीको अध्यक्षता र रेडक्रस उपशाखा दाङका उपसभापति मदन गौतमको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई गाउँपालिकाका योजना शाखा प्रमुख विकाश ज्ञवाली, वडा नं. ६ का वडासचिव मंगलप्रशाद चौधरीले जिल्ला बिपदको सहयोगले आफुहरुमा आत्मबल थपिएको र विपद संग जुध्न उर्जा प्राप्त भएको बताए ।
उनीहरुले ती सामाग्रीको भरपुर सदुपयोग गरि बिपदमा खट्न समुदायमा गठित विपद समुहहरुलाई आग्रह गर्दै अपुग सामाग्री जुटाउन वडा र पालिकाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
दाङ जिल्लाका नदी तटिय क्षेत्रका ९८ वटा समुदायमा बिपद व्यवस्थापन समितिहरु गठन गरिएका छन् । ती समितिहरुले विपदको समयमा जिल्ला बिपदले दिएको तालिम र ज्ञानका आधारमा खोज तथा उद्धार र प्राथमिक उपचारको काम गरेर मानिसको जीवन रक्षा गर्दै आइरहेका छन् ।