सल्यान, पुस ११ ।रोल्पा सिमेन्ट प्रालिसम्म आवतजावत गर्ने ट्रिपरले सडक जिर्ण बनेपछि आइतबार सल्यानमा सर्वपक्षिय छलफल हुने भएको छ । दाङ तुलसीपुरदेखि सल्यान कपुरकोट हुँदै रोल्पा त्रिवेणी गाउँपालिका कोईला सम्मको सडक खण्डमा अध्यधिक भारबहन क्षमताका टिप्परहरु गुड्ने हुँदा सडक जिर्ण बनेपछि त्यसको विरोध हुँदै आएको छ ।
जता कतै सडकमा खाल्डाखुल्डी भएका छन् । सडक धुलाम्मे हुने गरेको छ । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा धुलो प्रभावित क्षेत्रका सर्वसाधारण, ट्रिपर ब्यवसायी , कपुरकोट गाउँपालिकाका जनप्रतिनिधि, रोल्पा सिमेन्ट प्रालिका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र सडक डिभिजन कार्यालय, कपुरकोट बजार ब्यवस्थापन समितिका पदाधिकारीका बीचमा छलफल हुन लागेको सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएका छन् । यसअघि पनि कपुरकोटमा यस्तै छलफल भएपनि त्यसले कुनै निकाश भने दिन सकेको थिएन ।
जिल्ला अधिकारीसहितको टोलिले शुक्रबार मात्रै कपुरकोटदेखि खाली बजार सम्मको क्षेत्रको अवलोकन गरेको थियो । धुलोले कपुरकोटदेखि रोल्पा सिमेन्ट प्रालिसम्म सडक छेउका वासिन्दालाई पारेको नकारात्मक प्रभाव, कपुरकोट खारा पहिरोले निम्त्याएको जोखिमको अवस्थाका बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख गोविन्द थापा लगायत जिल्लास्थित अन्य शुरक्षा निकायका प्रमुख, कपुरकोट ३ का वडा अध्यक्ष मिनबहादुर सेन, स्थानीय ब्यवसायी, नागरिक समाजसहितको टोलिले अनुगमन गरेको हो ।