तुलसीपुर, पुस ९ । तुलसीपुरको वन क्षेत्रमा तस्करहरुले जम्मा गरि राखेका २७ वटा गाई गोरुलाई उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ को मयालु सामुदायिक वन भित्र बाँधि राखेको अबस्थामा गाई गोरु फेला पारिएको हो ।
तुलसीपुर वडा नम्वर ८ का अध्यक्ष बेदबहादुर केसी(बेदु)ले गाई गोरुको तस्करी गर्ने समूहले त्यसरी वनमा बाँधेर राखेको हुनुपर्ने अनुमान गरिएको बताए । ‘गाई गोरु बाँधिएको अबस्थामा हामीले फेला पारेका छौं,’ केसीले भने ‘ ती गाई गोरुलाई घाँस,दाना पानी दिएकोपनि देखिएन ।’
स्थानीयले वन भित्र गाई बाँधिएको अबस्था फेला पारेपछि तत्काल वडाध्यक्ष केसीलाई खवर गरेपछि वडाध्यक्ष गएर ती गाई गोरुको उद्धार गरेका हुन । त्यहाँ जाने क्रममा वनमा क्षेत्रवाट एउटै मोटरसाईकलमा पाँच जना मानिस चढेर भागेको आफुले देखेको पनि वडाध्यक्ष केसीले बताए ।
उनीहरुले नै ती गाई गोरुलाई तस्करी गरि अनेत्र पठाउनका लागि वनमा बाँधेर राखेको हुन सक्ने वडाध्यक्ष केसीले बताए । वनबाट उद्धार गरिएका २७ गाईलाई बिहीबार नै तुलसी बहुउदेश्यीय गौशाला गोलौरालाई हस्तान्तरण गरिएको छ ।
यसअघि पनि पश्चिम दाङबाट गाई गोरु रातिको समयमा तस्करी हुने गरेको सर्वसाधारणले बताउँदै आएका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दल दाङका अध्यक्ष टीका घर्तीको नेतृत्वमा पंचकुलेबाट केही महिना पहिले मात्रै दर्जनौं गाई गोरुको उद्धार गरिएको थियो । स्थानीय प्रशासन भने यसबारे अनभिज्ञता व्यक्त गर्दै आएको छ ।