तुलसीपुर, १८ मंसिर । व्यवस्था फेरिएपनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नफेरिएको गुनासो सरोकारवालाहरुले व्यक्त गरेका छन् । अपाङ्ग समाज सुधार केन्द्र दाङले बिहीवार तुलसीपुरमा आयोजना गरेको २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा समावेशी अपाङ्ग समाजका अध्यक्ष ज्ञानबहादुर केसीले गुनासो गरे ।
‘व्यवस्था त फेरियो, तर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै फेरिएन,’ केसीले भने ‘सवै किसिमका अपाङ्गहरुको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।’
अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य रोजगार जस्ता कुरामा राज्य जिम्मेवार बन्न नसकेको उनले गुनासो गरे । कार्यक्रममा अपाङ्ग समाज सुधार केन्द्रका उपाध्यक्ष ईश्वरी खड्काले राज्यले हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिन नसकेको बताए । ‘अझैपनि पढेलेखेका अपाङ्गहरु बाटोमा गीत गाएर सहयोग माग्र्दै हिडर्नुपर्ने अवस्था छ,’ उनले भने ‘ यही अवस्था कायम रहेने हो भने समावेशी लोकतन्त्र छ भन्ने अवस्था रहँदैन ।’
राज्यले अपाङ्गता भएका व्यक्तिका लागि कानुन बनेपनि उक्त कानुन व्यवहारमा लागु हुन नसकेको उनले बताए । त्यस्तै जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष खुमानन्द अधिकारीले ज्येष्ट नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्य थप जिम्मेवार बन्न जरुरी रहेको बताए ।
अपाङ्ग समाज सुधार केन्द्र दाङका अध्यक्ष हुककान्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली थिए ।उनले जुनसुकै समयमा जो पनि अपाङ्ग हुन सक्ने भन्दै अपाङ्गलाई हेर्ने दृष्टिकोण परिवर्तण गर्न जरुरी रहेको बताए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार मुलक सीप प्रदान गरेर उनीहरुलाई आत्मनिभर बनाउन जरुरी रहेको उनले बताए । अपाङ्गता भएका व्यक्तिहरुले इच्छा शक्ति भएमा जुनसुकै कामा पनि कुशलता पूर्वक गर्न सक्ने उनको भनाई थियो ।
कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकार समावेसी विकासमा लागेको भन्दै मानवअधिकारको रक्षा गर्दै सवैको समावेसी विकासमा आफुहरु लागेको धारणा राखे ।
दलित, महिला, जनजाती अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिताका लागि आफुहरु कटिवद्ध रहेको उनले स्पष्ट पारे । अपाङ्गता भएका व्यक्तिहरुको जिविको उपार्जनका लागि के कस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा छलफल गरेर समस्या समाधान गर्ने उनले आश्वासन दिए ।
अपाङ्ग परिचय पत्र, अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन गरिने बताए । त्यस्तै उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोग सामग्री ल्याउन एक लाख सहयोग दिने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा तुलसीपुर ६ का वडाध्यक्ष नवराज लामिछाने, कार्यपालिका सदस्य जानका रेग्मी,मानव अधिकार तथा शान्ति समाज दाङकी सचिव निर्मला डिसी, तुलसीपुर बालबालिका तथा समाज विकास शाखाका राधा भट्टराई, अपाङ्ग संघकी देवा शर्मा लगायतले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि एक भएर जानुपर्ने बताए ।
सो अवसरमा अपाङ्ग समाज सुधार केन्द्र दाङको नवनिर्मित भवनको आयव्य भवन निर्माण समितिका संयोजक खुमानन्द अधिकारीले प्रस्तुत गरेका थिए । दिवसकै अवसरमा अपाङ्गता भएर पनि उदाहरणिय कार्यगर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कर्यक्रम अपाङ्ग समाज सुधार केन्द्र दाङका उपाध्यक्ष ईश्वरी खड्काको स्वागत मन्तव्यवाट सुरु भएको थियो भने सहजिकरण सचिव टिकाराम वलीले गरेका थिए ।