तुलसीपुर, असोज २९ । आत्महत्याको दर डरलाग्दो गरि बढ्दै जान थालेपछि प्रहरीले सचेतना अभियान सुरु गरेको छ । विहीवार अपरान्ह तुलसीपुरको बीपी चोकबाट प्रहरीले अभियानको सुरुवात गरेको हो । जहाँ प्रहरीले सर्वसाधारण नागरिकलाई रोकेर आत्महत्या विरुद्ध सचेतना फैलाउने पर्चा बाँड रहेको थियो ।
त्यो पर्चामा–आत्महत्या अपराध हो, यातना वा पीडा भए प्रहरीमा उजुरी गरौं, घरेलु हिंसा भए प्रहरीमा उजुरी गरौ, आत्महत्या होइन, तपाँई भित्र समस्या, पीर, पीडा छ भने साथी वा परिवारमा कुरा गरौं, समस्या भयो भन्दैमा आत्महत्या नगरौं, समस्याको समाधान धेरै किसिमवाट गर्न सकिन्छ, आत्महत्या समाधान होइन भन्ने जस्ता नाराहरु लेखिएका छन् ।
पछिल्लो समय जिल्लामा बालबालिकादेखि जेष्ट नागरिक सम्मले आत्महत्या गर्ने गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । सबै भन्दा धेरै आत्महत्या गर्नेहरु २० देखि ३० बर्ष उमेर समुहका रहेको तथ्याङ्कले देखाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आत्महत्या विरुद्धको अभियान प्रदेशका बाह्रवटै जिल्लाहरुमा सञ्चालन गर्ने भएको छ । डरलाग्दो गरि बढी रहेको आत्महत्याको दर न्यूनिकरण गर्न घर, परिवार र समाजको सानो भूमिकाले सघाउ पुग्ने प्रहरीको बुझाई छ ।