काठमाण्डौ,असोज १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।
सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले धेरै शुल्क लिइरहेका छन् ।
मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार ५०० रुपैया शुल्क तोकेको थियो । अहिले भने सरकारले २ हजार रुपैयाँ शुल्क तोकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाई छ ।