काठमाडौं , असोज १४। कोरोना भाइरस संक्रमणबाट सप्तरीका ३९ वर्षीय एक युवकको मृत्यु भएको छ । राजविराज नगरपालिका–४ का ती युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो ।
असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो ।
प्रतिष्ठानका अनुसार ती युवकमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो । उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउने गरेको थिए ।
प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार