सल्यान, असोज १३ । विद्युतको पहुँचबाट निकै टाढा रहेको कालीमाटी गाउँपालिकाले विद्युत विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मर्चेबारी, टाट्के लगाएत बस्तीमा तिहार अघिसम्म विजुली बत्ति बाल्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जनाए ।
९० प्रतिशत साझेदारी सहकारी विद्युत र १० प्रतिशत गाउँपालिकाको बजेट गरि कुल चार करोड ५० लाख रुपैंयाबाट विद्युतिकरणको काम भइरहेको उनले जानकारी दिए । त्यस्तै गाउँपालिकाकै एक करोड ३३ लाख लागतमा विद्युतको अर्कौ एउटा योजना सञ्चालन भइरहेको छ । त्यो बाहेक प्रदेश सरकारको एक करोड ११ लाखबाट पनि विद्युत विस्तार कार्य चलिरहेको उनले बताए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले विद्युत विस्तारका लागि ५० लाख रुपैंया विनियोजन गरेको छ । अध्यक्ष केसीका अनुसार वडा नं ६ मा लाइन विस्तार भइसकेको छ, अव बत्ति बल्न मात्रै बाँकी छ । कालीमाटी गाउँपालिकामा सुर्खेत र दाङबाट विद्युत ल्याइएको छ ।