स्याङ्जा,असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुर्दा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।
माटोले पुरिएर गम्भीर घाइते भएकी वालिङ ११ का ३९ वर्षका दुर्गा थापाको उपचारका क्रममा ज्यान गएको हो ।
घाइते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो । माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको उपचार भइरहेको छ ।
मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार