दाङ, साउन २७ ।सल्यान प्रहरीले अदालतद्धारा २० बर्ष कारावासको सजाय तोकिएका कतव्र्य ज्यान मुद्दामा एक फरार प्रतिवादी पक्राउ गरेको छ ।जिल्लाको साविक निगालचुला गाविस वडा नं. २ निवासी हाल ६६ बर्षीय ईन्द्रे कामीले २२ बर्षअघि स्थानीय २३ बर्षीय मनबहादुर कामीलाई बञ्चरो प्रहार गरि हत्या गरेका थिए । बिक्रम संवत २०५५ साल कात्तिक ५ गते दिउँसो तिहारको भाइ टिकाको दिन मदिरा सेवन पछि भएको सामान्ने विवादको क्रममा कामीले विकलाई बञ्चरो प्रहार गरि हत्या गरेका थिए ।
हत्या पछि उनले जंगलमा लगेर शव गाडेका थिए । स्थानीय नरसिंह कामीको घरदेखि अन्दाजी ३० मिनेट टाढा पर्ने सेवरखोली भन्ने जंगलमा विकको शव गाडेको अवस्थामा प्रहरीले फेला परेको थियो । प्रहरीका अनुसार कामीलाई कतव्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत सल्यानले यसअघि नै २० बर्ष कैद सजायको फैसला सुनाएको थियो ।
फरार रहँदै आएका कामी हाल सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा साउन २५ गते प्रहरीले पक्राउ गरी सल्यान ल्याएको हो । कामीलाई सोमवार जिल्ला अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशले सजाय भुक्तानको लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।