२०८१ फाल्गुन २ गते शुक्रवार

रुकुममा भाइले दाजुको हत्या गरे, मकै बारीमा गाडेको शव प्रहरीले निकाल्यो

दाङ,साउन ८ । रुकुम पश्चिममा टाउको छिनालेको अवस्थामा मकै बारीमा गाडेको एउटा शव प्रहरीले फेला परेको छ । उक्त शव चौरजहारी नगरपालिका वडा नम्वर ९ गुर्ताल निवासी ४५ बर्षीय हरिबहादुर मल्लको रहेको प्रहरीले जानकारी दिएको छ । बिहीवार विहान घर नजिकै मकै बारीमा गाडेको अवस्थामा फेला परेको शवलाई प्रहरीले निकालेर पोष्ट मार्टमको लागि जिल्ला अस्पताल चौरजहारी पठाएको छ । टाउको पुरै छिनालेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीका अुनसार अनुसन्धानका लागि मल्लका सहोदर भाइ ३५ बर्षीय भूपेन्द्र मल्ललाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनलाई जाजरकोटस्थित आफन्तको घरवाट प्रहरीेले बुधवार राति नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

हरिबहादुरको हत्या साउन ४ गते राति भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । हत्या पछि घटना लुकाउन शब मकै बारीमा लगेर गाडेको हुन सक्ने अनुमान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरमा दाजु भाइ मात्रै बस्दै आएका थिए ।

हरिबहादुर र उनकी पत्निको सम्वन्ध विग्रिएका कारण विगत १६ बर्ष अगाडिदेखि छोरीसहित पत्नि सल्यानस्थित माइती घरमा बस्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । हत्या अभियुक्त भाइ भूपेन्द्र भने अबिबाहित हुन । उनीहरुकी झन्डै ७० बर्षीया आमा छोरीको घरमा बस्ने गर्छिन । जेठो छोरा हरिबहादुर खाना खान आमा कहाँ जाने गर्थे भने भाइ भूपेन्द्र आफै खाना बनाएर खाने गर्थे ।

साउन ५ गते हरिबहादुर खाना खान नगएपछि उनकी आमाले सोधी खोजी गरेकी थिइन । यसैबीच गाउँलेहरु हरिबहादुरको घरमा बुधवार ड्रम लिन भनि गएको समयमा त्यहाँ लास सडेको जस्तो गन्ध आयो । त्यसपछि उनीहरुले घर नजिकैको मकै बारीको डिलको खाडलमा मानिसको एउटा हात बाहिर देखे । नजिक गएर नियाल्दा त्यहाँ मानिस गाडेको देखेपछि प्रहरीलाई खवर गरिदिए । प्रहरीले बुधवार रातभरी शव कुरेर बिहीवार विहान शवको उत्खनन् गरेर पोष्ट मार्टमको लागि पठाएको छ ।

घटनाको अनुसन्धान गरेका एक प्रहरी अधिकारीका अनुसार अभियुक्त भूपेन्द्रले हत्या आफैले गरेको स्वीकार गरि सकेका छन् । दाइ आफुसंग झगडा गरि छुट्टै कोठामा सुत्न गएको र सुति सकेपछि ग्राँसीले हानेर टाउको छिनालेको भन्ने बयान दिएको उनले फरककोणलाई बताए ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *