काठमाडौं,साउन १ । मौसम विज्ञान विभागले साउन ४ देखि भारी वर्षा हुने जानकारी दिएको छ । त्यो बर्षाको अवधि बढीमा चार दिन रहने विभागले जानकारी दिएको छ ।साउन ४ गतेदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । त्यसपछि नेपालमा विभिन्न भागमा मनसुन सक्रिय हुने र धेरैजसो स्थानमा भारी बर्षाको संभावना रहेको विभागले बताएको छ ।
विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठले मुलुकको पूर्वमा अलि बढी मनसुन सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा अनुमान गरिन । मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्ष हुने अनुमान गरिएको छ। साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ।
प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ। यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ।नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भीषण वर्षा भएको थियो ।