२०८१ फाल्गुन २ गते शुक्रवार

जलाशयहरुमा चौकीदारको व्यवस्था गर्न महराको आग्रह

 

दाङ, मंसिर १२ ।
तालमा डुवेर एक किशोरको मृत्यु भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महराले त्यसप्रति दुःख व्यक्त गरेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियास्थित कृत्रिम जलाशयमा डुबेर घोराही १५ निवासी १८ बर्षीय लक्ष्मण डिसीको मृत्युको खबरपछि सभामुख महराले शोक वक्तव्यमार्फत उक्त घटनाले आफूलाई मर्माहत तुल्याएको उल्लेख गरेका छन् ।

महाराले डिसीका बुवाआमा र परिवारजनमा पीडालाई सहन गर्दै धैर्यता र संयमता अपनाउन सक्ने शक्ति प्राप्त गरुन् भन्ने कामना पनि गरेका छन् । भविष्यको सपना कोर्दै गरेको तथा खेल्न गएको विद्यार्थी कृत्रिम जलाशयमा डुबेर निधन हुनु निकै दर्दनाक र दुखद् घटना भएको महराले उल्लेख गरेका छन् ।

घटना भएको क्षेत्र उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । गत आइतवार नुहाउन भनि पोखरीमा पसेका डिसीको शव चार दिनको प्रयासपछि बुधबार बिहान मात्रै फेला परेको थियो । यसका साथै उनले दुर्घटना भएको पूरै चार दिनपछि मात्रै शव भेटिनु अर्को विडम्बनाको रुपमा उल्लेख गर्दै यो घटनाहरुले हाम्रो विपद् न्यूनीकरणको पूर्व तयारीको अवस्थाको चित्रण गरेको बताएका छन् । सभामुख महराले यस्ता घटनाहरुबाट पाठ सिक्दै तत्काल उद्धार गर्न सक्ने क्षमताको विकास गर्नतर्फ सबै सचेत हुनुपर्ने बताएका छन् ।

पछिल्ला केही वर्षयता दाङमा कृत्रिम जलाशयहरु निर्माणको क्रम बढेको प्रसंग उल्लेख गर्दै महराले पानीको स्रोत सञ्चयका लागि त्यो आवश्यक भएपनि आवश्यक सावधानी भने अपनाउनु आवश्यक रहेको बताएका छन् । जलाशयहरु निर्माणसँगै यसबाट हुनसक्ने सम्भावित क्षति र दुर्घटना नियन्त्रणका लागि आवश्यक पूर्व तयारी नभएको हुँदा यस्ता दुखद् घटनाहरुले पुष्टि गरिरहेको भन्दै उनले कृत्रिम जलाशयहरुमा सुरक्षित तारबारको निर्माण, पौडी वा जलविहार गर्न मिल्ने र नमिल्ने जलाशयहरुको किटान गर्न आग्रह गरेका छन् ।

त्यस्तै उनले जलाशयहरुमा चौबिसै घण्टा चौकीदारको व्यवस्था गर्नुका साथै पौडी वा जलबिहारका लागि आवश्यक स्रोत साधनहरुको व्यवस्था गरी सुरक्षित प्रक्रियाबिना पौडी वा अन्य जलविहारका कार्यमा प्रतिबन्ध लगाउन स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकाय सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *