काठमाडौं मङ्सिर ३ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको सुरू गरेका छन । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन ।
गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।
“देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्दछ” गृहमन्त्री थापाले भने, “तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।”
गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उल्लेख गरे । देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी समेत दिए ।
उक्त समारोहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पु¥याउने कार्य पाँचथरबाट सुरु भएको जानकारी दिए ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।