२०८१ जेष्ठ ११ गते शुक्रवार

इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण भोलि


पुस, ९ । भोलि, २०७६ साल पुस १० गते बिहीबार अर्थात् डिसेम्बर २६ तारिख । यस दिनमा इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण लाग्ने छ ।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एशियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने बलयाकार (रिङ अफ फायर) का रूपमा देखिनेछ। बलयाकार (रिङ अफ फायर) मा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। करिब ६ वटा ग्रहहरु एकै स्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलीय घटना हो ।

यस्तो खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव गर्दछ । विशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्व नै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ । राजनीति, व्यापार, विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घटना एक पक्ष अघि र एक पक्षपछिसम्म रहनेछ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव १५ दिन अघिदेखि नै पर्न शुरु गर्छ भने ग्रहण लागेपछि पनि करब १५ दिन रहने छ तर, लागेपछिको समय भने त्यति खतरा नहुने, तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ ।

सूर्य ग्रहण मूल नक्षत्र धनु राशीमा लाग्दैछ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटबाट शुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ र बिहानै ११ बजेर ३१ मिनेटमा पूर्ण रूपमा ग्रहणले छोड्ने छ । तर, पुस ९ गते राति ८ बजेर ४२ मिनेटबाट नै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै शुरु हुने छ।

विशेषगरी यस ग्रहण धनु, वृश्चिक, कन्या, सिंह, मकर, वृष, मेष, मिथुन राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि भने ग्रहण हेर्न जुरेको छ ।

यस पटकको खण्डग्रास सूर्यग्रहण मूल नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म मूल नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मूल क्षत्रमा ग्रहणको योग परेकाले विशेषगरी मूल नक्षत्रमा जन्म भएका धनु राशि र धनु लग्न भएका जातलाई प्रतिकूल हुने देखिन्छ ।

यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यस प्रकार रहेको छ:
मेष : मानहानी हुने
वृष : कष्ट हुने
मिथुन : स्त्रीपीडा हुने
कर्कट : सुख मिल्ने
सिंह : चिन्ता बढ्ने
कन्या : व्यथा बढ्ने
तुला : श्रीस् प्राप्ति हुने
वृश्चिक : क्षति हुने
धनु : घात हुने
मकर : खर्च बढ्ने
कुम्भ : लाभ हुने
मीन : सुखदायी हुने

ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?
“निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमाप्नुयात्,
पुरिषे कृमि योनिश्च मैथुने ग्रामसुकर :
अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादधोगति,
बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।”

अर्थात्, यो बेलामा सुतेमा रोग लाग्दछ, दिसा-पिसाव गरेमा दरिद्र हुन्छ ,त्यसपछि दिसा – पिसावको किरोको योनीमा जन्म हुन्छ, मैथुन गरेमा अर्को जन्ममा पशुको रुपमा जन्म हुन्छ, शृङ्गार वा गाजल लगाएमा कुष्टिरोगी भइन्छ, भोजन गरेमा अधोगति (पतन) हुन्छ, बन्धनमा बसेमा सर्पको रुपमा जन्म हुन्छ भन्ने शात्रीय वचन छ ।

विज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि–मुनिहरुले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघि चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् ।

ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ, जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरु अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो ।

वैज्ञानिक र डाक्टरहरुले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् ।

यसरी कुशको प्रयोग गर्दा ती काटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकुँडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ ।

पौराणिक मान्यताबमोजिम सूर्य ग्रहणको समयमा जडराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गनुहुँदैन, अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ ।

सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै भएर पनि उसको मानसिक र दिमागी सन्तुलमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरुले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ। यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराही, दाङ ।
सम्पर्क नम्बर : ९८५११९३९६४, ९८२२८५०७३५

प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *