यमकला भुसाल,
तुलसीपुर, मंसिर १२ । बाल विवाह गर्नु हुन्न भनेर ज्ञानदिने शैक्षिक संस्थाहरुमै अध्यनरत कतिपय किशोर किशोरीहरु कलिलै उमेरमा विहे गर्ने गरेको पाइएको छ । विगत ५ वर्षको तथ्याङ्क नियाल्दा त्यो कुराको पुष्टि भएको छ । सूचना केन्द्र स्थापना गरिएका जिल्लाका २० वटा विद्यालयमा अध्यनरत किशोर किशोरीहरु मध्य ५ बर्षको अन्तरालमा ९ सय ३८ जनाले विवाह गरेको देखाएको छ ।
ओरेक दाङकी कार्यक्रम अधिकृत दीपा धितालले २०७१ देखि ०७५ सम्मको अवधिमा ९ सय ३२ जना किशोरी र ६ किशोरले उमेर भन्दा पहिलै बालविवाह गरेको पाइएको छ ।
नेपालको जनगणना २०६८ अनुसार दाङमा ६६.५ प्रतिशत किशोरीहरुले १९ वर्ष भन्दा कम उमेरमा विवाह गरेको देखाएको छ ।
ओरेकले सन् २०१५ देखि जिल्लाका २० वटा विद्यालयहरुमा बाल विवाह न्यूनिकरण गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरेको धितालले जानकारी दिइन । ‘हामीले विगत ५ वर्ष देखि २० वटा विद्यालयहरुमा काम गर्दे आएका छौँ,धिताले भनिन्–‘पहिलेको तुलनामा बालविवाह केही कम भएपनि अझैंपनि बाल विवाह नरोकिनु चिन्ताको विषय हो ।’
ओरेक दाङको तथ्याङ्क अनुसार भानु मावि प्रसडुवामा २०७१ साल देखि ०७५ सम्ममा ३९ जनाले , बिरेन्द्र मावि हेकुलीमा २०७१ देखि ०७५ सम्ममा ६० जनाले , मावि तुलसीपुर धनौरीमा ४९ जना ,अमर मावि उरहरीमा ४६ जना ,अम्बेकश्वरी मावि फुलवारीमा ६३ जना ,दिपेन्द्र मावि मानपुरमा ५७ जना,सरस्वती मावि भरतपुरमा ६३ जना,पशुपति मावि हरिपौरामा ५० जना,शिवशक्ति मावि धनौरीमा ६९ जना,जनजोति मावि तुही रनियापुरमा ४१ जना,जनजाग्रित मावि पातुबन गाउँमा ३ जनाले बालविवाह गरेका छन ।
त्यस्तै नमुना बोडिङ् पढ्ढामा ३ जना,मावि कालाखोलामा ३१ जना,रझेना माविमा १६ जना,गुरु जजुर मावि रक्षाचौरमा ६७ जना,बालमितेरी मावी भोजपुरमा ५९ जना,मावि बालापुरमा ३५ जना,नरदेवी मावि तेघरा ढिकपुरमा ७० जना ,शिद्ध पृथ्वी जनता माविमा ४३ जना र सरस्वती मावि दमारगाँउमा ५४ जना गरि हालसम्म ९ सय ३८ जनाले बालविवाह गरेको ओरेकको तथ्याङ्कमा उल्लेख छ ।
बालविवाह विशेष गरि गरिब, विपन्न र शिक्षाबाट वञ्चित रहेका परिवारका बालवालिकाले गर्ने गरेको पाइएको छ । शारिरीक र मानशिक रुपमा परिपक्क नहुँदै र प्रजनन् अंगके राम्रो संग विकाश नहुँदै कलिलै उमेरमा विहे गर्दा उनीहरुको स्वास्थ्य पनि जोखिमा पर्छ भने उनीहरु अवसर वाट समेत बञ्चित हुनुपर्ने अवस्थाको सृजना भएको पाइन्छ ।