२०८१ असोज २५ गते शुक्रवार

गाउँपालिकाले विद्यालयमा साढे १० हजार प्याड उपलब्ध गरायो


शंकर केसी,
सल्यान, मंसिर ४ । कपुरकोट गाउँपालिकाले विद्यालयमा साढे १० हजार स्यानेटरी प्याड उपलब्ध गराएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि हाल सम्म दश हजार पाँच सय स्यानेटरी प्याड उपलब्ध गराएको छ ।

छात्राहरुको विद्यालय अनुपस्थित हुने दरमा कमी ल्याउन यहाँका विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था समेत गरेको छ । कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बताए ।

चालु आर्थिक वर्षको लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै माध्यमिक विद्यालयमा पुगेर सात हजार प्याड वितरण गरेको थियो । पाँच वटा मावि रहेको कपुरकोटमा प्रत्येक विद्यालयमा एक हजार चार सय पिस प्याड वितरण गरिएको थियो । गत आर्थिक वर्ष एक विद्यालयमा सात सयको दरले तीन हजार पाँच सय प्याड वितरण गरिएको थियो ।

सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केहि असजिलो मान्ने गरेता पनि पछिल्लो समय भने  हिजो आज महिनावारिको बारेमा छात्राहरु खुलेर कुरा गर्न सक्ने भएको र चाहिएको बेला प्याड माग्ने गरेको विद्यालय प्रशासनले जानकारी दिएका छन् ।

विरेन्द्र माध्यमिक विद्यालय गर्पाका प्रधानाध्यापक डिलबहादुर नेपालीले महिला शिक्षक नभएको समयमा समेत छात्राहरुले ढुक्कका साथ सरहरुसंग पनि प्याड मागेर प्रयोग गर्ने गरेको जानकारी दिए । भवानी माध्यामिक विद्यालय सिनवाङ, छाँयानाथका एक सय २० भन्दा बढी छात्राहरुले प्याड प्रयोग गरेको शिक्षिका मिना घर्तीले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *