
दाङ, भदौ २१ । मदिराले मातेका चालकले हाँकेको ट्रयाक्टर घर भित्रै छिरेपछि एक जना बालकको मृत्यु भएको छ । घरको आँगनमा बसेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भगवती टोल निवासी १३ बर्षीय अनिल विकको मृत्यु भएको छ । गम्भीर घाइते विकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा करिव ८ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विक डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए । बेलका ७ बजेतिर दिदी भाई संगै घरको आँगनमा बसिरहेका समयमा ट्रयाक्टर गएर ठोकेको ठोकेको थियो । ‘दिदी तरकारी पकाउन भित्र पस्ने वित्तिकै भाइलाई आएर ट्रयाक्टरले घर भित्रै छिरेर ठक्कर दियो । हामीले अहिले सम्म यस्तो डर लाग्दो घटना आज सम्म देखेका थिएनौं,’ स्थानीय एक महिलाले भनिन् ।
तुलसीपुर–सुकौरा सडक खण्डमा बेलुका ७ बजेतिर अत्यधिक मदिरा सेवन गरेका चालकले हाँकेको रा १ त २६३१ नम्वरको ट्याक्टरले सडक पार गर्दै पश्चिम तर्फ घर भित्रै छिरेको छ । उक्त ट्रयाक्टरले घरको सटर समेत तोडेको छ । घर भित्रै छिरेको ट्रयाक्टरले घरको पिलर समेत भत्किाएको छ ।


ट्रयाक्टर घर भित्र छिरेर बच्चालाई ठक्कर दिए लगतै चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउँ निवासी ५२ बर्षीय कामी चौधरी भाग्न खोजेका थिए । स्थानीयले उनलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका हुन । मातेका चालक भाग्न खोजेपछि राम्रो संग हातखुट्टा समेत लाग्न अवस्थामा नरहेको चालक चौधरीलाई पक्राउ गर्ने स्थानीय युवाहरुले बताएका छन् । घटना स्थल पुगेका प्रहरी अधिकारीले पनि चालक चौधरीले अत्यधिक मदिरा सेवन गरेको जानकारी दिएका छन् ।