
तुलसीपुर, १९ भदौ ।
पूर्व शान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरको धावनमार्ग विस्तारका लागि पहल भएको वताएका छन् । धावन मार्ग विस्तारको आवश्यकता भइसकेको बताउँदै मन्त्री शर्माले आवश्यक सर्वे गरेर काम अगाडि बढाउनका लागि पहल गर्ने जानकारी दिए । नारायणपुरमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल लामो समयको सोच भएको बताउँदै तुलसीपुरकै विमानस्थलमा ठूला जहाज बसाउने गरी पहल गरिने उनले बताए ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले तुलसीपुर प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक आउने गरी कानून ड्राफ्ट भएको जानकारी दिए । ‘गाउँ घरका जनताले पनि विशेषज्ञ डाक्टरको उपचार पाउन सकून भन्ने गरी ऐन बनेको छ’ पूर्वमन्त्री शर्माले ऐन लागू भए लगत्तै प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर अनिवार्य आउने बताए ।
संघीयताको कार्यान्वयनसँगै विकासप्रति जनताको चाहना तिव्र हुँदै गएको बताउँदै त्यसलाई सम्बोधन गर्न स्थानीय सरकारलाई चुनौति रहेको बताए । जनताको आवश्यकता सम्बोधन गर्नका लागि स्रोतको अभाव रहेको बताउँदै शर्माले जति स्रोत छ त्यहिबाट नै जनताको चाहनाको उच्च सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।
विवादका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन नसकेको बताउँदै प्रतिनिधि सभा सदस्यसमेत रहेका शर्माले राजनीतिक कारणले प्रतिष्ठानमा विवाद गर्न नहुने तर्क दिए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान हामी सबैको हो यसलाई जोगाएर राख्ने दायित्व पनि सबैको छ’ उनले भने ।
कार्यक्रममा विषय प्रवेश गराउँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विमानस्थलको धावन मार्ग विस्तार, तुलसीपुर घोराही फोरलेन सडक, प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, सक्राम व्यारेकको व्यवस्थापनलगायतका विषयमा जानकारी गराएका थिए ।