काठमाण्डौ ,कात्तिक २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन ।
प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जालमार्फत कप्तान पौडेललाई बधाई दिएका हुन ।
उनले कप्तान पौडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
पौडेललाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो ।
पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते उनलाई बर्खास्त गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टोलीको कप्तानी पनि सम्हालिसकेका छन् ।
यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुर मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् ।
प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
