२०८१ बैशाख ८ गते शनिवार

छाला जोगाएर रंग खेलौं

होलीमा छालालाई रंगको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ । हात र नङलाई रंगबाट बचाउन क्रिम वा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रंग छिट्टै जान्छ ।

जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रंग उपलब्ध हुँदैनथ्यो, त्यतिबेला होलीमा पानको पातबाट, गुलाबपत्र, सयपत्री, पालुंगो, बेसार, मेहेन्दी आदिबाट तयार पारिने प्राकृतिक रंग एकापसमा दलेर होली मनाइने गरिन्थ्यो ।

 

आफ्नो छालाको अवस्था र रंगमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन् । होलीमा रंग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रंगबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

कालो रंगमा लिड अक्साइड, हरियोमा निलो तुथो कपर सल्फेट, सिल्भर रंगमा आल्मुनियम ब्रोमाइड, निलोमा कोबाल्ट जिंक, रातो रंगमा पारो ९मर्करी० तथा अब्रकको धुलो मिसाइएको हुन्छ । यी तत्वले हाम्रो छालामा असर गर्छन् । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ । कालो रंगले किड्नीमा असर गर्छ । हरियो रंगले आँखाको एलर्जी, अनुहार सुन्निने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ । सिल्भर कलरले छालाको क्यान्सरको जोखिम हुन्छ । निलो रंगले एलर्जी र रातोले छालाको क्यान्सरको जोखिम छ ।

रंगलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ । रंगले छालामा प्रयत्क्ष–अप्रत्यक्ष रूपमा असर गर्छ ।

प्रत्यक्ष रूपमा गर्ने असर

रंगमा रसायन मिसिने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ । जसको छालामा पटकपटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रंग दल्दा यो अझै बढेर जान्छ । रंगका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखा पर्छ । एक्जिमाको रूपमा पनि देखा पर्न सक्छ । कसैकसैलाई रंगका कारण रुघाखोकी लाग्ने पनि हुन्छ ।

अप्रत्यक्ष रूपमा गर्ने असर

छालामा रंग दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ । त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ । छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ । डन्डीफोर, छालाको एलर्जी भएकालाई रंगले अझै धेरै दुःख दिन्छ । कपालमा रंग लगाउँदा पछि कपाल झर्ने समस्या देखा पर्छ । नङको कापमा रंग पर्दा नङ पाक्ने समस्या देखा पर्छ । रंगका कारण आँखा तथा कानको एलर्जी हुन्छ । घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ ।

होली खेल्नुअघि

आफ्नो शरीर तथा अनुहारको छालामा कुनै समस्या छैन र रंगको एलर्जी पनि छैन भने होलीमा रंग दलेर रमाइलो गर्न सकिन्छ । होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ । हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ । पूरै शरीर ढाक्नेगरी खुकुलो कपडा लगाउनुपर्छ । शरीरमा तेल लगाएपछि रंग दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन । होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा मोइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ । सकेसम्म कम रसायन मिसिएको रंग छनोट गर्नुपर्छ ।

होली खेलिसकेपछि

होली खेलिसकेपछि नुहाउनुपर्छ । नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ । नुहाएपछि तेल वा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । रंग खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ । होली खेलिसकेपछि शरीरमा लागेको रंग हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउनुपर्छ ।

नुहाउँदा रंग लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्ने र त्यसपछि केही समय राखी सुक्न दिनुपर्छ । सुकेपछि सफा पानीले पखाल्नुपर्छ । यसले शरीरमा लागेको रंगलाई हटाउन मद्दत गर्छ । त्यसैगरी फेसवासले अनुहार धुने र त्यसपछि मोइस्चराइजर लगाउनुपर्छ । रंगको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ । हातबाट रंग सफा गरिसकेपछि भिटामिन ‘ई’ युक्त क्रिमले मसाज गर्नुपर्छ, जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ ।

 

(डा. कर्ण छाला तथा सौन्दर्यरोग विशेषज्ञ हुन् ।)

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *