
घोराही, कात्तिक १३ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आँखाको सेवा बिस्तारका बारेमा छलफल सुरु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र नेपाल नेत्र ज्योती संघका पदाधीकारी बीचमा बिहीवार छलफल सम्पन्न भएको छ ।
प्रतिष्ठानमा आँखाको उपचारको सेवा बिस्तार गर्ने उदेश्यले प्रतिष्ठानकी उपकुलपती प्राध्यापक डाक्टर संगीता भण्डारीको आग्रहमा छलफल सुरु भएको हो । छलफलमा नेत्र ज्योती संघका अध्यक्ष कृष्ण गिरी, संघका सचिव सुरेन्द्र खड्का, किरणकुमार रेग्मी सहभागि थिए ।
त्यस्तै प्रतिष्ठानको तर्फबाट उपकुलपति भण्डारीसहित डिन बसन्त लामिछाने, आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतको सहभागिता थियो ।
आँखाका विरामी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यका साथ प्रतिष्ठानले विशेषज्ञ सेवा दिने तयारी स्वरुप आँखा रोग विशेषज्ञ सर्जन प्रज्ञा बस्नेतलाई प्रतिष्ठानले जिम्मेवारी दिएको छ ।
बस्नेतलाई आँखा डिपार्टमेन्ट अघि बढाउने गरि सम्भाब्यता अध्ययन गर्ने गरि जिम्मेवारी प्रतिष्ठानले प्रदान गरेको छ । त्यही उदेश्यले प्रतिष्ठानले पहिलो पटक आँखाको विशेषज्ञ सेवा दिने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइएको छ ।
