अन्य समयभन्दा ध्यान दिने व्यक्तिहरु दसैंमा भने वास्ता नगरी खाने गरेको देखिन्छ । मासु खाने व्यक्तिहरुले बढी खाने र लामो समयसम्म राखेर खाने गरेको पाइन्छ । यस्तोले शरीरलाई फाइदा गर्दैन । मासुलाई राख्दा फ्रिज भए ५ डिग्री सेल्सियस तापक्रममा राख्ने वा चिसो पानीको भाडामा राख्नुपर्छ । तर पाकेको मासु र काँचो मासु एकै ठाउँमा राख्नु हुँदैन ।
अघिल्लो दिन पकाएर राखेको मासुलाई भोलिपल्ट सामान्य (अलिअलि) तातो बनाए खानु हुँदैन । राम्रोसँग तताउनुपर्छ । जसले गर्दा मासुमा रहेका ब्याक्टेरिया मरेर जान्छन् । मासु पकाउँदा थोरै तेल राखेर पकाउने र मसाला पनि थोरै प्रयोग गर्नुपर्छ ।
यसअघिका दसैंमा हरेकपटक खाँदा एक कचौरा मासु खानुहुन्थ्यो भने यसपटक आधा कचौरा मात्र मासु खाने गरौं । मिठाइ पनि पहिलाको भन्दा आधा मात्र खाऔं । त्यसैगरी मासुसँगै रेसादार तरकारी तथा फलफूल (फाइबर हुने ) खानुपर्छ । रेसादार खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भने शरीरलाई चाहिने सूक्ष्म तत्त्वहरु प्राप्त गर्छ । योसँगै हामीले दैनिक दुई लिटर पानी अनिवार्य पिऔं ।
कोरोना संक्रमणबाट जोगिन र यदि संक्रमण भइहाले चाँडो निको हुन रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन भएका खानेकुरा जस्तै गेडागुडी, दूध-दही, माछा, मासु र अन्डा आदि खानुपर्छ । हामीले टुसा नउमारेका भन्दा टुसा उम्रेका गेडागुडी खाए शरीरलाई फाइदा गर्छ । एकचौथाइ अन्न, एकचौथाइ गेडागुडी र दुईचौथाइ तरकारी भए मात्र सुन्तलित आहार मानिन्छ । सामान्यत: हामीले भात बढी, गेडागुडी र दाल कम खाने गर्छौं, यो राम्रो बानी होइन् । खानामा सागपात, गेडागुडी दाललाई बढी प्राथमिकता दिनु उत्तम हुन्छ ।
वृद्धवृद्धालाई पच्न सक्ने खानेकुरा दिनुपर्छ । उनीहरुलाई खसीको मासुभन्दा कुखुराको दिने गरौं । कुखुरामा सेतो मासु हुन्छ जसले असर गर्दैन । यदि कुखुराको मासु खाँदैनन् । खसीकै मासु खाएमा पनि छाला (रौं वा किटाणुहरु हुने ) नखाने । बरु बोसोविनाको खाँदा राम्रो मानिन्छ ।
हरेक दिन परिवारका सबैले एउटा फल खाने बानी गरौं । बालबालिकाहरुलाई पौष्टिक खाद्य पदार्थको लिटो घिउमा पकाएर खान दिनुपर्छ । घरमै बसेका वा कोरोना संक्रमितले पनि सन्तुलित आहार खान र दिनहुँ वाफ लिँदा शरीरलाई फाइदा हुन्छ ।
कोभिड संक्रमण भएर होम आइसोलेनमा बसेकाले तातोपानी र गुर्जो वा अन्य जडीबुटीसँगै सन्तुलित भोजन गर्नुपर्छ । यस्तै दिनहुँ वाफ लिने गर्नुपर्छ । शरीर गल्दै गएमा थप भिटामिन सी, डी वानका ट्याबलेट खानुपर्ने हुन्छ, अझ हरेक दिन जिंक खानुपर्ने हुन्छ । अझ जटिल समस्या देखिए तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ ।
अन्त्यमा, दसैं अर्को वर्ष पनि आउँछ । यो दसैंमा कोरोना संक्रमण हुन नदिने र भए पनि कसरी हुन्छ पराजित गर्ने रोग प्रतिरोधात्मक खानेकुरामा जोड दिऔं । घरमा पाहुना नबोलाउने र आफू पनि कतै पाहुना लाग्न नजाने गरौं । घरमा बस्दा पनि सकेसम्म भौतिक दूरी कायम गरौं । घरभित्रै दसैं मनाऔं ।