२०८१ चैत्र ६ गते बुधवार

स्वास्थ्य शाखाको पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम

तुलसीपुर,असोज १५ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा वितेको आर्थिक वर्ष २०७६/७७ को पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम तुलसीपुरमा सुरु भएको छ । बिहिवार देखि सुरु भएको २ दिने पालिका स्तरीय वार्षिक समिक्षा तथा प्रगती प्रतिवेदन प्रस्तुत कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले कोभिड-१९ को समयमा जोखिम मोलेर जनताको सेवामा खटिने स्वास्थ्यकर्मीहरुको सबैले उच्च सम्मान र मुल्याङ्क गर्नुपर्ने बताए । नागरिकलाई सुरक्षित सेवा प्रदान गर्ने सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका सदैव तत्पर रहेको उनको भनाई छ । उनले तुलसीपुरलाई स्वास्थ्य उपचार केन्द्रका रुपमा नेपालभर चिनाउन स्वास्थ्य सुरक्षा प्रणालीलाई प्रभावकारी बनाएर अगाडी बढ्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख डा. सर्वेश शर्माले कोडिभ-१९ रोकथामका लागी स्वास्थ्यकर्मीहरुले धेरै समस्या झेल्दै नागरिकको सेवामा खटिरहेको बताए । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जनस्वास्थ्य निरिक्षक बिमल केसीले अझैपनि सबै स्वास्थ्य संस्थाहरुमा मापदण्ड पुरा नभएको बताए । उनले प्रयाप्त मात्रामा औषधी भण्डारण गर्ने भवन नभएको ,प्रयाप्त मात्रामा कोठा नभएको,गोलोप्सको अभाव,सबै स्वास्थ्यकर्मीले प्रयाप्त आधारभुत तालिम नपाएको जस्ता थुप्रै समस्याहरु रहेको बताए । उनले वितेको वर्षमा सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत ३० लाख २४ हजार ४ सय रुपैया बजेट खर्च भएको पनि जानकारी दिए ।

वितेको वर्षमा ६ वटा बर्थिङ सेन्टरबाट २ सय १२ जनाले सुत्केरी सेवा लिएको उनको भनाई छ । त्यस्तै उनले कोभिड- १९ का कारण यस वर्ष ५० प्रतिशत मात्र कार्यक्रम गर्न सफल भएको पनि जानकारी दिए । उनले स्वास्थ्य शाखाले कोभिड-१९ रोकथाम कार्यक्रम फागुन ३० देखि सुरु गरेको र यस बिचमा विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना गरि १५ हजार ६ सय ८५ जनालाई चेकजाँच गरेको बताए । कोभिडले गर्दा बाहिर जान नसक्ने अवस्थाका दिर्घरोगी बिरामीहरुका लागी औषधीजन्य बस्तुहरु घरमा पुर्‍याएर सहयोग गरेको बताए । उनले कोरोनाको हालसम्मको तथ्याङ्क हेर्दा तुलसीपुरमा ३ हजार १ सय ७५ जनाको पिसिआर जाँच भैसकेको छ । यी मध्ये कोरोना पोजेटिभ देखिएका २ सय २८ जनामा १ सय ७४ जनाले कोरोना जितेर घर फर्कीसकेका छन भने अहिले तुलसीपुरमा ५४ जना सक्रिय संक्रमित रहेको उनको भनाई छ । उनका अनुसार तुलसीपुरमा हालसम्म १ जना संक्रमितको मृत्यु भएको छ ।

जनस्वाथ्य शाखाका विष्णु गिरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरिक्षक बिमल केसीले गरेका थिए । उक्त कार्यक्रम भोलीसम्म चल्ने छ ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *