हालसम्म १० जनाको शब फेला, ३ जना अझैं बेपत्ता

दाङ, साउन २८ ।
प्यूठानको माडी खोला किनारमा फेला परेका थप पाँच वटै शब थवाङ पहिरोमा परेका ब्यक्तिहरुको भएको पुष्टि भएको छ ।
घटनास्थल भन्दा झन्डै ४४ किलोमिटर दक्षिण प्यूठानको माडी खोला किनारको बिभिन्न भागमा पाँच वटा शबवहरु बिहान फेला परेका थिए । प्यूठान प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार त्यहाँ फेला परेका पाँच वटै शबहरु थवाङ पहिरोमा परेकाहरुको भएको आफन्तले सनाखत गरेका हुन ।
प्यूठान प्रहरीका अनुसार रोल्पा थवाङ थवङ – ५ कोटलबाराका कुमार पुन मगरको छोरा ७ बर्षीय अशोक पुन मगर रहेको काका कृष्ण पुन मगरले सनाखत गरेका हुन । सोही ठाउँका ३४ बर्षीय महेन्द्र घर्तीको सनाखत भान्जा कृष्ण पुन मगरले सनाखत गरेको हुन । ६६ बर्षीया मनी पुन मगरको सनाखत छोरा गोबबहादुर पुन मगरले गरेका थिए । प्यूठान प्रहरीका अनुसार ३४ बर्षीया विष्णु पुन मगरको सनाखत मामा गोबबहादुर पुन मगरले गरेका थिए भने ८० बर्षीय बलबहादुर पुन मगरको सनाखत पनि उनै भतिज नातासमेत पर्ने गोबबहादुरले नै सनाखत गरेका हुन ।
प्यूठान प्रहरीले यसअघि दिएको जानकारी अनुसार एउटा शबको ढाडदेखि माथिको भाग मात्रै फेला परेको थियो भने अर्कौ शवको खप्पर लगाएतका भागहरु फेला पर्न सकेका थिएनन् ।

त्यस्तै रोल्पास्थित थवाङ घटनास्थलमा बिहीबार बेलुकीसम्म थप पाँच जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखुका अनुसार हालसम्मको खोजी बाट घटनास्थलमा पाँच जनाको शब फेला परेको हो ।
अपरान्ह पख स्थानीय ८५ बर्षीया हस्तकला रोका मगरको शब घटनास्थलको पहिरोमा फेला परे थियो । त्यसअघि स्थानीय ८० बर्षीया मनखना पुन मगर, ७५ बर्षीय दलबहादुर पुन मगर, ६० बर्षीय कमलबहादुर पुन मगर र १८ बर्षीया शान्ती पुन मगरको शब सुरक्षाकर्मीले पहिरो बाट निकालेका थिए ।
प्रहरीले सार्वजनिक गरेको बिवरण अनुसार पहिरोमा परेका मध्य अझैं तीन जना बेपत्ता छन् । जस्मा स्थानीय ९ बर्षीय अशिम पुन मगर, ८० बर्षीय अजम्बर पुन मगर र ६१ बर्षीय लिलबहादुर पुन मगर बेपत्ता छन् ।
उनीहरुको खोजी कार्य जारी छ ।

थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार बेलुकी करिब साढे ७ बजेतिर माथि बाट झरेको पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च गरी १२ वटा घर, गोठ, चर्च, पसल पुरेको तथा बगाएको थियो । पहिरो बारे प्रहरीले भने झन्डै एक घन्टा पछि बुधबार राति करिब पौने ९ बजेतिर मात्रै सूचना पाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे तिर प्रहरी घटनास्थल पुगेका थियो ।
घटनास्थल थवाङमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरीका प्रदेश डिआइजी अभिकुमार खत्री आँफै पुगेका थिए । डिएसपी बखुका अनुसार इप्रका, उवा, थवाङ, जिप्रका रोल्पा, बिपद गुल्म कार्यालय दाङसमेत गरि नेपाल प्रहरीका ५० बढी मानिसहरु घटनास्थलमा खोज तथा उद्धार कार्यमा खटिएका थिए । त्यस्तै नेपाली सेनाको एक टोली, सशस्त्र प्रहरीको टोलीसमेत गरि झन्डै ७० हाराहारी सुरक्षाकर्मी दिनभर खोज तथा उद्धारमा खटिएका थिए । स्थानीय समेत गरि झन्डै डेढ सय जति खोज तथा उद्धारमा दिन भर खटेका थिए । अहिले पनि बेपत्ताहरुको खोजी कार्य जारी छ ।
घटनास्थलमा रोल्पाबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता तथा लुम्बिनीका पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, थवाङ , सुनछहरी , परिवर्तन गाउँपालिका लगाएतका अध्यक्ष आँफै घटनास्थल पुगेका थिए ।

थवाङ पहिरोमा परि घाइते अवस्थामा उद्धार गरिएका मध्य २२ बर्षीय हिमाल पुन मगर र २५ बर्षीय संजय घर्ती मगरलाई रोल्पामा प्रारम्भीक उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि रिफर गरिएको छ ।
