तुलसीपुर,चैत १५ । होली पर्वलाई मध्येनजर गरेर पर्सेनीमा बजार अनुगमन गरिएको छ ।
आइतवार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले बजारका खाद्यन्न पसल र मासु पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता र नविकरण नभएको भेटिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।
उनका अनुसार १६ वटा पसलहरु अनुगमन गरिएकोमा १४ पसलहरु दर्ता नभएको र उनीहरुलाई तिन दिन भित्र दर्ता प्रक्रियामा आउन आग्रह गरिएको छ ।
अनुगमनका क्रममा दैनिक उपभोग्य सामाग्री नमकिन,टेष्टी भुजा,जुस,बेशन पिठो,बिस्कुट लगाएतका सामाग्रीहरु बरामद गरिएको छ ।
उनले बरामद गरिएका सामाग्रीहरु नष्ट गरिने बताइन ।
चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मुल्य लिने,म्याद गुज्रिएका अखाद्य बस्तु बेच्ने लगाएतका समस्या देखिने गरेकाले हाली पर्वलाई लक्षित गरेर अनुगमन गरिएको शर्माले बताइन ।
अनुगमनमा उपभोक्ता हित संरक्षण शाखा सहित,उपभोक्ता हित संरक्षण मञ्च,वडा जनप्रतिनिधि,स्थानिय प्रहरी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।