
दाङ, जेठ २१ ।
रोल्पामा बिहीबार बिहान भएको सिंगल क्याप बोलेरो पिकअप जिप दुर्घटनामा ज्यान गुमाउने सबै दाङका रहेको खुलेको छ ।
दुर्घटनामा चालकसहित एक दम्पत्तिले ज्यान गुमाएका छन् । गाडी चालक घोराही उपमहानगरपालिका – ७ देसाहीका २५ बर्षीय बिरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका – ७ श्रीगाउँ घर भइ हाल घोराही– १४ मा बस्दै आएका ४० बर्षीय जिउधन चौधरी, उनकी ३० बर्षीया श्रीमति कमला चौधरीको दुर्घटनामा परि मृत्यु भएको हो । दाङ बाट गएका आफन्तले मृतकको पहिचान गरेको रोल्पाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।
प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धान बाट उनीहरु पसलको सामान बिक्री गर्नका लागि रोल्पा पुगेको खुलेको छ ।
जेठ २० गते राति साढे १० बजेतिर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पिकअप गाडी चालक विरबहादुरले इलाका प्रहरी कार्यालय होलेरीको चेक पोष्टमा इन्ट्री गराएका थिए । त्यसमा उनले आफ्नो ठेगाना दाङको घोराही लेखाएका थिए भने पिकअप गाडी घोराहीस्थित ‘सिद्दबाबा सप्लायर्स’ बाट होलेरीका लागि सामान लगेर आएको बिवरणहरु टिपाएका थिए । सोही आधारमा प्रहरीले दाङमा आफन्तहरुलाई बोलाएको थियो ।
बिहीबार बिहान ८ बजेतिर सहिद मार्ग अन्र्तगतको व्याङखोला माडी गाउँपालिका – २ घर्ती गाउँको व्याङखोला बाट अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ नम्बरको सिंगल पिकअप बोलेरो झन्डै ६०० मिटर मुनी खसेको थियो । घटनास्थल व्याङखोला इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि झन्डै ४ किलोमिटर पूर्व दक्षिणमा पर्छ । दुर्घटनाको कारण खुली सकेको छैन ।
