
तुलसीपुर तरकारी बजार
दाङ,असार २९ । केही दिनको अन्तरालमै तरकारीको भाउ २०देखि ५० प्रतिसत सम्म बढेको छ । हप्ता दिन अगाडि सम्म प्रति किलो फुटकर ३० देखि ४० रुपैंयामा किन्न मिल्ने टमाटर ८० रुपैंया,आलु २५ देखि ३० रुपैंयामा पाईने आलु किलोको ४० रुपैंया, ३० देखि ४० रुपैंयामा पाइने करेला ७०देखि ८० प्रति किलो पुगेको छ । त्यस्तै एक किलोको ३५ देखि ४० रुपैंया पर्ने फूलगोभी ८० देखि ८५ रुपैंया, ३५ देखि ४० रुपैंयामा किन्न मिल्ने भिन्डि एक किलोको ८० देखि ९० रुपैैंया, बोडी प्रतिकिलोको खुद्रा मुल्य ९० देखि १०० रुपैंया सम्म पुगेको छ ।
यो बीचमा भाउ नबढेको भनेको बन्दा गोभीको मात्रै हो । जसको मुल्य पानी पर्दापनि प्रभावित भएन । अरु जस्तो छिट्टै नविग्रने भएका कारण बन्दा गोभीको भाउ स्थिर रहेको हो । प्रतिकिलो गोभी आइतवार ३० देखि ४० रुपैंयामा किनमेल भइरहेको तुलसीपुर तरकारी बजारका एक अर्का व्यापारी नारायण वलीले जानकारी दिए । यो बीचमा अप्रत्यासित रुपमा हरियो खुर्सानीको भाउ बढेको छ । एक हप्ता अगाडि किलोको फुटकर मुल्य ६० देखि ७० रुपैंया रहेकोमा हाल यसको मुल्य १५० र त्यो भन्दा माथि पुगेको वलीले जानकारी दिए ।
बर्षा र बाढीले तरकारीको भाउ बढ्यो
लगातारको बर्षा र खोला तथा नदीमा आएको बाढीका कारण तरकारीको भाउ बढेको व्यवसायिहरुले बताएका छन् । बजारमा तरकारीको भाउ झरी सुरु भएपछि ह्वात्तै बढेको तुलसीपुर तरकारी बजारका अध्यक्ष झुपलाल खड्काले तर्क गरे । पानी पर्न थालेपछि गाउँघरवाट बजारमा तरकारी आउन छाडेको हुँदा तरकारीको भाउ एकाएक बढेको उनले दाबी गरे ।

तुलसीपुर तरकारी बजारका अध्यक्ष झुपलाल खड्का
बर्षाले नदी र खोला बढे पछि स्थानीय किसान तरकारी ल्याएर बजार सम्म आउन नसक्दा महंगी बढेको उनले बताए । पानी पर्दा गाउँ घरको सडक खण्ड हिलाम्मे हुने तथा त्यस्तो सडकमा गाडी संचालन गर्न समेत कठिन हुने हुँदा स्थानीय किसानले खेतवारीमा उत्पादन गरेको तरकारी बजार सम्म ल्याउन नसकेको उनले बताए ।
सल्यानको कपुरकोट बजार र चितवन जिल्लावाट समेत तरकारी खरिद गरेर ल्याउँदा महंगो हुन पुगेको अध्यक्ष खड्काको भनाई छ । सल्यानको कपुरकोट बजारबाट आजकल दैनिक एक करोड बराबरको तरकारी तुलसीपुर बजारमा भित्रने गरेको उनले जानकारी दिए । त्यसैगरी उनले चितवन वाट समेत मासिक एक करोड बरावरको तरकारी तुलसीपुरमा आउने गरेको बताए । टाढा बाट ल्याउनु पर्दा ढुवानी खर्च बढी पर्ने हुँदा तरकारी महंगो हुन पुगेको खड्काले जानकारी दिए । भान्सा अत्यन्तै महंगो भएपछि उपभोक्ता भने मर्कामा परेका छन् ।
