दाङ,असोज २२ । सन्चारिका समूहले सञ्चार नीति निर्माण गर्दा महिलालाई प्राथमिकता दिन आग्रह गरेको छ ।
समूहले पालिकाबाट अनुदान पाउने सञ्चार गृहले उक्त नीतिको पालना गरेका छन् वा छ्रैनन् त्यसका आधारमा मात्रै स्थानीय सरकारले अनुदान वा अन्य सेवा सुविधा दिन तुलसीपुर उपमहानगरपालिकालाई आग्रह गरेको छ ।
सन्चारिका समूहले थालेको नीति निर्माणमा सहजीकरण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिकामा गरिएको सञ्चार नीति विषयक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले एउटा उपभोक्ता समूह, क्लबहरु दर्ता हुन आउँदा महिला सहभागिता हेरिए जस्तै पालिकामा सूचीकृत हुने सञ्चार गृहमा महिला सहभागिता कस्तो छ हेर्न आग्रह गरिन ।
त्यस्तै उनले पालिकाले हरेक वर्ष सञ्चारकर्मीहरुलाई सम्मान वा पुरस्कृत गर्दा महिलालाई समेट्न, तुलसीपुरमा सञ्चालित सञ्चारगृहहरुमा कार्यरत महिला पत्रकारलाई सुत्केरी बिदाको विषयमा पनि स्पष्ट नीति बनाउन आग्रह गरिन।
उनले भनिन– ‘गर्भवती अवस्थामा काम छोडेका थोरै मात्र महिला पत्रकारहरु पुनः पत्रकारितामा पुनस्र्थिापित भएका छन् । महिला पत्रकारका लागि बच्चा जन्माउने कि जागिर खाने भन्ने दुविधा भइरहन्छ । सञ्चार नीति निर्माण गर्दा पालिकाले यसतर्फ पनि ध्यान देओस् ।’
साथै उनले पालिकाबाट अनुदान पाउने सञ्चारगृहहरुले आफ्ना कर्मचारीलाई नियमित तलब खुवाएको छ वा छैन भन्ने विषयमा सेवा सुविधा दिनुअघि जाँच गर्न पनि सुझाव दिइन ।
कार्यक्रममा बोल्दै पत्रकार तथा तुलसीपुर उपमहानगरपालिकाले सञ्चारगृह वर्गीकरणका लागि गठन गरेको कार्यदलका सदस्य सुशील बस्नेतले पालिकाले निर्माण गर्न थालेको सञ्चारगृह वर्गीकरणको मापदण्ड देशभरका पालिकाले अनुसरण गर्ने खालको बनाइने बताए ।
‘कार्तिकभित्रै यो नीति तयार गर्ने तयारीमा जुटेका छौं । यसमा सञ्चारिका समूहले उठाएका सवालहरु पनि समेटिनेछन् । हामी समाजको तल्लो तहसम्म पुगेर समावेशीतालाई जोड्ने कोसिसमा छौं ।’उनले भने ।
कार्यक्रममा समाजका अन्य निकायजस्तै सञ्चार क्षेत्रलाई पनि प्रोत्साहन र नियमन गर्ने निकाय स्थानीय सरकार नै भएकोले त्यसका लागि आवश्यक नीति नै निर्माण गरेर अघि बढ्न कार्यदल गठन गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।
‘कार्यदलले यहाँ सञ्चालित सञ्चारगृहहरुले संघीय सरकार र प्रदेश सरकारबाट सेवा सुविधा लिएका छन् या छ्रैनन्’– उनले भने – स्थानीय सरकारले कुन कुरामा सहयोग गर्नुपर्ने होलगायतका कुराहरुको अध्ययन गर्छ । साथै तपाइँहरुले उठाएका मागहरु पनि नीतिमा समेट्न प्रतिबद्ध छौं ।’
कार्यक्रमको सहजीकरण सञ्चारिका समूह दाङका अध्यक्ष रञ्जिता शर्माले गरेकी थिइन ।
