दाङ, भदौ २८ । जिप दुर्घटनामा परि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र पुथा उत्तरगंगा –२ का वडाध्यक्ष अन्दाजी ४० बर्षीय जसबहादुर श्रीपालीको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले दुर्घटनामा परि चालक भूमे गाउँपालिका – ३ का प्रेम पुन घाइते भएको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष घर्तीले उपाध्यक्ष बुढा आँफुसहित भदौ १७ गते आमाको पनि उपचार गराउन भनेर काठमाडौं गएको र घर फर्किदै गर्दा दुर्घटनामा परेको अप्रत्यासित खबर सुन्नुपर्दा पालिका शोकमा डुबेको बताए ।
उपाध्यक्षको दाँत र गिजाको उपचार गराउन जाँदा बिरामी आमाको पनि उपचार गराउन भनेर काठमाडौं गएको अध्यक्ष घर्तीले बताए ।
दुर्घटनामा ज्यान गुमाएका मध्य वडाध्यक्ष श्रीपाली वडाकै कामले १९ गतेतिर काठमाडौं गएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । वडा नं. १, २ र ३ का वडाध्यक्ष वडाकै योजना माग्न काठमाडौं गएको उनले बताए । अन्य वडाध्यक्षहरु छुट्टै सवारी साधनवाट फर्किएको तर वडा नं. २ का वडाध्यक्ष श्रीपाली गाउँपालिका उपाध्यक्ष संग फर्किर्दै गर्दा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
दुई जना जनप्रतिनिधि एकै साथ गुमाउँदा गाउँपालिकालाई अपुरनिय क्षति पुगेको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्ष बुढा र वडाध्यक्ष श्रीपाली नेकपा (माओबादी) केन्द्रबाट निर्वाचित भएका थिए ।
घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको तथा हाल धौलागिरि अस्पतालमा उपचार भइ रहेको भएपनि थप उपचारका लागि काठमाडौं लैजाने बारे कुरा भइ रहेको गाउँपालिका अध्यक्षले बताए ।
बाग्लुङको गलकोट नगरपालिका – २ को भुँखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप सडकदेखि झन्डै तीन सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले शुक्रबार बिहान नौं बजेतिर जिप दुर्घटनामा परेको बताएपनि गाउँपालिका अध्यक्षले भने बिहान ५ बजेतिर जिप दुर्घटनामा परेको भन्ने सूचना आँफुले पाएको जानकारी दिए । दर्घटनाको कारण खुली सकेको छैन ।
