
शरद रेग्मी
दाङ जेठ १६ ।
जति ठूला नेता भए पनि जिल्लामा गौरवका योजना कहिलै नपर्नु दुर्भाग्य भएको तुलसीपुर क्षेत्रका व्यवसायीहरुले बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा टिप्पणी गर्दै निजी क्षेत्रका अगुवाहरूले सरकारले दाङलाई निरन्तर उपेक्षा गर्दै आएको बताएका हुन् । निजी क्षेत्रको लागि केही स्वागतयोग्य बजेट आएको भएपनि समग्र जिल्लाको विकासको लागि अपेक्षाकृत रुपमा ठूला योजनाहरु नपर्नु दुःखद पक्ष भएको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् ।
‘हाम्रो जिल्लामा नेताहरु मात्रै ठूला तर, ठूला योजना जिल्लाले कहिल्यै पाउन,’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले भने । संघका सल्लाहाकार तथा उद्योगपति विमल रिजालले सरकारले निम्न आय भएका जनताको जीवनस्तर सुधारर्ने गरी बजेट ल्याउन नसकेको बताए । ‘प्रचारमुखी र महत्वाकांक्षी बजेट ल्याउन खोजेर लोकप्रियता मात्रै हासिल गर्न खोज्नु आफैमा घातक हो,’ रिजालले भने ‘त्यसमाथि दाङमा गौरवका ठूला योजना नपर्नु दुःखद् हो ।’
उनले स्वास्थ विज्ञान प्रतिष्ठानको नामसमेत बजेट बक्तव्यमा नसुन्दा आश्चर्यमा परेको बताए । यस्तै हो भने राप्ती प्रादेशिक अस्पताल र दाङमा भएका अन्य अस्पताल रेफर सेन्टरको रुपमा मात्रै सीमित रहने चिन्ता उनले जाहेर गरे । तर उनले टरिगाउँ एयरपोर्टको स्तरोन्नतीको कुरामा राज्यले चासो देखाएको प्रति भने आशाको सञ्चार भएको तर्क गरे ।
यातायात ब्यवसायी सुरेश हमालले बजेटबारे टिप्पणी गर्दै सरकारले बजेट बक्तव्यमार्फत दंगाली जनतालाई फेरि निराश तुल्याएको बताए । ‘हामी यो अलि बढी आशावादी भएका थियाँै,’ हमालले भने ‘सभामुख कृष्णबहादुर महरा र ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जिल्लामा ठूला गौरवका योजना पार्ने आशा थियो।’
गौरवका कुनैपनि ठूला योजना पर्दा निजी क्षेत्रमात्रै नभई सिङ्गो दाङको विकासको गतिमा सुधार आउनेमा आशा मरेको हमालले तर्क गरे । यद्यपि उनीहरुले बृद्ध भत्ता बढाउने जस्ता अन्य केही निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको बजेट आएकोमा भने खुसी साटेका थिए ।
