काठमाण्डौ,चैत १४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपका पक्राउ परेकालाई युवालाई थुनामा राख्न नमिल्ने बताएका छन ।
मङ्गलवार ट्वीट गर्दै महामन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका हुन ।
प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक रहेको उनले ट्विटरमा लेखेका छन । महामन्त्री शर्माले थुनामा रहेका युवालाई तत्काल रिहा गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो १ आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले ट्विटरमा लेखेका छन ।
गएको चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरमा गएका बेला तीन जना युवाले उहाँविरुद्ध नाराबाजी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि हिजो सोमवार जेल चलान भएका थिए ।