काठमाडौं,असार १६ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन्।
बिहीबार ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विषय उठाउँदा पनि त्यसै छाड्दा संसद् कमजोर हुँदै जाने स्पष्ट पारेका हुन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएका थिए।
अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई घिमिरेले भनेअनुसार गर्न अह्राएका थिए। सोहि विषयलाई लिएर एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ।
एमालेका उपाध्यक्ष नेम्वाङले भने, ‘बजेट बनाउँदा अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको भन्ने प्रश्न उठ्यो। सांसदले प्रश्न उठाए। अर्थमन्त्रीले होइन भन्नुभयो। म यसै त भन्दिनँ तर यस्तो अवस्थामा सजिलै छाड्नु हुँदैन। संसदमा प्रश्न उठेपछि छानबिन नगरी छाडियो भने संसद् कमजोर हुन्छ।’
ससदीय छानविन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन एमालेले माग गरिरहेको बेला नेम्वाङले प्रमुख प्रतिपक्ष दलका एक जना प्रतिनिधि राखेर अर्थमन्त्रालयकवो उक्त दिनको सिसिटिभीको फुटेजरभिडियो हेरेर यथार्थ के हो बाहिर ल्याउन समेत प्रधानमन्त्री देउवालाई सुझाव दिए।
उनले महाभियोग समिति बनाउन नाम प्रस्ताव गर्दा एमालेले संसद् अवरोध गरिरहेको भएपनि समिति सदस्यमा नाम दिएको स्मरण गराए। उनले महाभियोग ल्याएर अलपत्र छाड्नु नहुने भन्दै टुंगोमा पुर्याउन आग्रह गरे।
नेम्वाङले एसपीपीसँग सम्बन्धित सबै कागजात संसद्मा पेश हुनुपर्ने धारणा राखे। प्रमुख प्रतिपक्षसँग छलफल गरेर निष्कर्षमा पुग्नु नै संसदीय प्रणाली भएको धारणा राखे। नेम्वाङले नेपालको संविधानले सुधारिएको संसदीय प्रणाली अवलम्वन गरेको समेत बताए।
उनले सांसदले उठाएका प्रश्न जवाफ नआउँदा संसद झन् झन् कमजोर हुँदै जाने समेत स्पष्ट पारे।
एपीएफको ४ वर्षे अवधि घटाएर ३ वर्ष नियमावलीमार्फत गर्न खोजेको भन्दै आपत्ति जनाए। उनले संसद बलियो र कमजोर बनाउने विषयमा एक वर्षमा के-के गर्यौ भन्ने विषयमा कार्यपत्र बनाउन समेत पूर्व सांसद मञ्चलाई आग्रह गरे।
उनले नेपालले आफ्नै विशेषतासहितको संसदीय प्रणाली अपनाएको बताए। उनले मनमोहन अधिकारीले कुनै पनि संसद बैठकलाई नछोडेको बताउँदै गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको समेत स्मरण गरे।