सुर्खेत,मंसिर ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन । यसका लागि मङ्सिर १४ गते प्रदेशसभाको बैठक आव्हान गरिएको हो ।
प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरेका हुन ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख परियारले प्रदेशसभाको बैठक आव्हान गरेको भएको जानकारी दिए ।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीमा नियुक्त भएको २८ दिनपछि विश्वासको मत लिन लागेका हुन । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तीन दलीय गठबन्धनमा बनेको सरकारमा मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।
३५ जना प्रदेशभसा सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ, र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
