तुलसीपुर, जेठ २९ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित गहते खोलामा शुक्रबार मध्यान्ह गोली चल्यो ।
आफ्नो जग्गा मिचेर कुलो निर्माण गर्न खोजिएको भन्दै स्थानीय २४ बर्षीय पूर्णबहादुर वलीले एक पटक हवाई फायर गरेका थिए ।
वलीले जग्गा नापजाँच गर्न पुगेका अमिन भनिएका मोहन केसीको क्षमता र बैद्यानिकतामा माथि प्रश्न उठाएका थिए । त्यसपछि अमिन केसीले वलीको प्रतिरोध गरेका थिए । वली र केसीका बीचमा भनाभन भयो ।
वलीले केसीलाई केटाहरु ल्याएर देखाउने भन्दै त्यहाँबाट निस्के । केही बेरमा फर्किएका वली गोजीमा हात हालेर आएका थिए । जग्गा नापजाँच गरिरहेका केसीलाई लक्षित गरि वलीले हावामा गोली चलाए । अनि उनी पेस्तोल त्यही फालेर वली हिडे । वातावरण त्रासपूर्ण बन्यो । पुरानो सिंचाई कुलो उकास्न ठाउँमा अन्य गाउँलेहरु पनि पुगेका थिए । प्रहरीले घटनास्थलमा बरामद पेस्तोलबाट ६ राउन्ड लोडेड गोली र एउटा फायर भएको गोलीको खोका समेत बरामद गर्यो ।
वलीलाई केही बेरमै प्रहरीले नियन्त्रणमा लियो । हाल उनी थुनामा छन् । अमिनलाई लक्षित गरि हवाई फायर भएको कुराले चर्चा पायो । त्यसपछि मोहन केसीको बारेमा बुझ्दै जाँदा उनी स्वीकृति प्राप्त अमिन नभएको तथ्य पत्ता लाग्यो । तुलसीपुर उपमहानगरपालिका अमिन बिक्रम गौतमले मोहन केसी कुनैपनि निकाएबाट जग्गा नाप जाँचका लागि स्वीकृति नलिएका ब्यक्ति भएको बताए ।
‘स्वीकृति प्राप्त नगरको ब्यक्तिले त्यसरी जग्गा नापजाँच गर्न पाउँदैन, त्यो कार्य अनाधिकृत हो,’ गौतमले भने ‘त्यस्ता ब्यक्तिले नापेको जग्गा सही हुन्छ भन्ने अवस्थापनि रहँदैन ।’पूर्णबहादुरका साँध सन्धियारका ब्यक्तिले कुलो छुट्याउन भन्दै अमिनका रुपमा केसीलाई बोलाउनु नै गलत भएको अमिन गौतमले बताए ।
