
घोराही, जेठ १८ । भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहरुले प्रर्दशन गरेका छन् । नेपाल चिकित्सक संघ दाङ शाखाको नेतृत्वमा भएको प्रर्दशनमा प्रतिष्ठान लगाएत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र घोराहीस्थित बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए ।
प्रर्दशनमा सहभागिहरुले दोषीमाथि कारबाहीको मागसहितका प्लेकार्ड छातीमा टाँसेका थिए भने हातमा कालो पट्टी बाँधेका थिए । बिभिन्न बहानामा दोषिलाई उन्मुक्ति दिने षडेन्त्र भए त्यो सैह्य नहुने र देशब्यापी स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरुको चेतावानी थियो ।
चिकित्सकको पेशागत सुरक्षाका लागि कडा खालको कानुन ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रम गरेको नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा. कुबेर रेग्मीले बताए ।
जेठ १३ गते राति भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु आक्रमण भएपछि दाङ उरहरीका मानबहादुर रावतसहित तीन जना पक्राउ परेका छन् । उनीहरुका बिरुद्ध ज्यान उद्योगमा मुद्दा चलाएर अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
