दाङ, जेठ ९ । प्यूठानमा घर भत्किदा बुवा, आमा र छोराको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिबाङ चौतारामा घर भत्किदा ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमति गमी मल्ल र उनीहरुका ३ बर्षीय छोरा शिशिर मल्लको मृत्युको घटनास्थलमै मृत्यु भएको छ ।
सोही घरको छुट्टै कोठामा सुतेका मल्लाका थप ३ छोरीहरु भने सकुशल रहेका छन् । । अन्दाजी ८ देखि १०,११ बर्षका छुट्टै तीन छोरी भने अलगै कोठामा सुतेको र उनीहरुले घटनाबारे बिहानसम्म थाहाँ समेत नपाएको अवस्था देखिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देबिप्रशाद गैरेले जानकारी दिए ।
प्रहरीका अनुसार मल्ल परिवारले फुस (खर)को छाना हटाएर जस्तापाता लगाउन शनिबार मात्रै छाना निकालेको थियो । दिउँसो पानी पपरेपनि राति पानी परेन । मल्ल परिवार सोही घरमा माथि त्रिपाल राखेर सुतेको थियो ।
त्यसरी सुतेका मध्य बुवा, आमा र छोरालाई माथिल्लो तला खसेर च्यापेको र उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक गैरेले बताए । तर, अर्कौ छुट्टै कोठामा सुतेका बच्चाहरुले घटना समेत थाहाँ नपाएको प्रहरीले जनाएको छ । मल्लकी जेठी छोरी (अन्दाजी १६ बर्षीया) शनिबार बेलुका नै मामा घर गएकी थिइन ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देबिप्रशाद गैरेले घटना राति घटेको हुन सक्ने अनुमान गरे ।जेठी छोरी बिहान साढे ७ बजे मात्रै मामा घरबाट घर फर्किएर आएपछि मात्रै घटनाबारे थाहाँ भएको थियो ।
उनी बिहान घर फर्किदा बुआ आमा नदेखेपछि छरछिमेकलाई खोजीका लागि गुहार मागेकी थिइन । गैरेका अनुसार प्रहरी घटनास्थल पुग्दा तीनै जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।
‘ छुट्टै कोठमा सुतेका तीन साना छोरी घटनाबारे अनभिज्ञ रहेछन्,’ गैरेले भने ‘ सोही घरमा सुतेका मल्लका तीन छोरी र मामा घर गएकी जेठी छोरी गरि चार जना सकुशल छन् ।’अहिले प्रहरीले मुचुल्का बनाइएको हुँदा केही बेरमै शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा लगिने प्रहरी प्रबक्ता गैरेले बताए ।
