
दर्शन एग्रोभेटका संचालक शिवराज न्यौपाने
तुलसीपुर, जेठ ८ । लमहीका पत्रकार शिवराज खनालाई ज्यानमार्ने धम्किदिने एग्रोभेट सञ्चालकलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ दाङ शाखाले माग गरेको छ ।
नेपाल प्रेस युनियनका जिल्ला सहसचिव तथा नेपाल पत्रकार महासंघका जिल्ला कार्य समिति सदस्य खनाललाई समाचार लेखेकै कारण लमहीको दर्शन एग्रोभेटका संचालक शिवराज न्यौपानेले शनिबार बिहान सार्वजनिक रुपमै गाली गलौज गर्दै ज्यान मार्ने धम्कि दिएका थिए ।
उक्त घटनाको बिरोध र दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आरके सितलले बिज्ञप्ती मार्फत न्यौंपानेलाई कारबाहीको माग गरेका छन् ।
समाचारमा चित्त नबुझे खण्डन गर्ने वा अन्य माध्यम हुँदा हुँदै पत्रकारलाई सार्वजनिक रुपमै गाली गलौज गर्दै ज्यान मार्ने धम्कि दिने कार्यको महासंघले भत्र्सना गरेको छ ।
केही दिन अघि मात्रै पत्रकार खनालले एग्रोभेट सञ्चालकले किसानलाई हाइब्रेड धान भन्दै झुक्याएर सरकारद्धारा प्रतिबन्धित गोरखनाथ धानको बीउ बेचिरहेको समाचार लेखेका थिए ।
लमही नगरपालिकाको पशु उपशाखा प्रमुख समेत रहेका एग्रोभेट सञ्चालक न्यौंपानेले रेडियो देउखुरीका स्टेसन म्यानेजर समेत रहेका पत्रकार खनाललाई कार्यालय तर्फ जाँदै गर्दा बिहान गाली गलौज गर्दै पत्रकारको लाइसेन्स देखा भन्दै ज्यान मार्ने धम्कि दिएको पत्रकार खनालले बताएका छन् ।

