तुलसीपुर, जेठ ४ । तुलसीपुरबाट बसमा काठ तस्करी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित भगबति टोलबाट रा १ ख २३७५ नम्बरको बसमा राखेर ३६.७२ क्यूफिटसहित प्रहरीले मंगलबार बिहान दूई बजे सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर ६ का १८ बर्षीय बिजय चौधरी, सोही वडाको बनकट्टा बस्ने २६ बर्षीय शिब परियार, सोही ठाउँका ३२ बर्षीय शमिर परियार, २० बर्षीय सञ्तोष चौधरी, सोही ठाउँका बसका चालक ३१ बर्षीय चुमानसिंह चौधरी, २० बर्षीय मनोज चौधरी र २७ बर्षीय श्यामलाल चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनीहरुको साथबाट काठ चिर्ने एउटा फलामे आरा समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिस र काठलाई आवश्यक कानुनी कारबाहीको लागि सव डिभिजन वन कार्यालय तुलसीपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।
