२०८३ असार १ गते सोमवार

कोभिड-१९ प्रतिकार्य सम्बन्धी अभिमुखीकरण

तुलसीपुर,मंसिर १३ ।महिला स्वास्थ्य स्वयंसेविकाका लागि कोभिड-१९ प्रतिकार्य सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी) दाङको आयोजना तथा युनिसेफको सहयोग एवं तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा नगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा न्युसिपिसी) दाङका संस्थापक अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष एवं कार्यक्रमका सहजकर्ता नवराज लामिछानेले कोभिड-१९ बारे समुदाय स्तरमा जनचेतना फैलाउन स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गरेका थिए ।

सुरुवाती चरणमा जस्तो अहिले अधिकांश मानिसहरुमा डर/त्रास हराइसकेको छ,उनले भने,- तर अहिले कोभिडको महामारी समुदायमा धेरै फैलिएको छ ,कोभिड बारे समुदायस्तरमा जागरण ल्याउन सबैजना सक्रिय रहनुहोला । उनले कोभिड- १९ को जोखिम कम गर्न व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक एवं कोभिड-१९ फोकल पर्सन बिमल केसीले कोरोना महामारीबारे जानकारी तथा यसले पारेको प्रभावका बारेमा जानकारी गराएका थिए । उनले ८० देखि ८५ प्रतिशत मानिसहरु कोभिड-१९ को लक्षण विहिन रहेको र हालसम्म जिल्लामै बालमृत्युदर शुन्य अवस्थामा रहेको जानकारी दिए ।

कोभिडको महामारीबाट बच्न नियमित स्वास्थ्य चेकजाँच,आत्मबलको क्षमता बढाउदै खानपिनमा ध्यान दिनुपर्ने,भौतिकदुरी कायम गर्ने,मास्क/सेनिटाइजर प्रयोग गर्ने जस्ता विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने उनको भनाई छ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी) दाङका अध्यक्ष निशा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी,तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य युवा करारा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा संयोजक बिनोद कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण न्युसिपिसी दाङका महासचिव नानुमैयाँ वलीले गरेकी थिइन् ।

यसैबिच तुलसीपुरमा मंसिर १३ गतेसम्म कुलसंक्रमितको सङ्या ७ सय २६ पुगेको छ । जसमा पुरुष ५ सय १८ जना छन भने महिला २ सय ८ जना रहेका छन । तथ्याङ्क अनुसार तुलसीपुरमा संक्रिय संक्रमित १ सय ३१ जना छन ।

जसमा ८२ जना पुरुष छन भने ४९ जना महिला छन । यी मध्ये हालसम्म ५ सय ९५ जना कोरोना मुक्त भैसकेका छन भने १२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २० वर्ष देखि ७२ वर्षसम्मका रहेका छन । त्यस्तै १ सय २२ जना होम आइसोलेशनमा बसेका छन भने कोरोना बिषेश अस्पताल बेलझुण्डीमा ८ जना उपचाररत रहेका छन ।

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *