
फाइल तस्बिर
काठमाडौं, कात्तिक २५ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलवार धुम्बाराहीमा छुट्टै बैठक बसेको छ ।बैठकमा सचिवालय बैठक राख्न लिखित रूपमै प्रधानमन्त्री ओलीसँग माग गरेका मध्यका प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागि थिए ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डसहित पाँच सचिवालय सदस्य सहभागि बैठकले त्यस्तो कुनैपनि ठोस निर्णय भने गरेन । बरु बैठकले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २७ गते सचिवालय बैठक डाक्ने आशाका साथ टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधवार प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेको हुँदा कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक डाक्ने आशा गर्दै बैठक टुंगिएको श्रेष्ठले बताए ।
मंगलवार बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गएर भेटेका थिए।कात्तिक २७ गते ओलीले बैठक नडाकेपछि के गर्ने ? भन्ने एकिन भइ नसकेको प्रबक्ता श्रेष्ठले बताए ।
