
फाइल तस्बिर
तुलसीपुर ,कात्तिक २० । दाङबाट नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रीय सदस्य पदका एक प्रतिपर्धी विमल रिजालले समग्र जिल्लाको व्यापार उत्थानका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा वाणिज्य महासंघको निर्वाचनको मिति तय गरिएको छ । सोही निर्वाचनमा रिजालले केन्द्रीय सदस्य पदको उम्मेदवारी यस अघि नै घोषणा गरि तीव्र रुपमा आफ्नो चुनावी अभियान सुरु गर्दै आएका छन् ।
फरकोण संगको फोन सम्वादमा तुुलसीपुरका उद्योगी रिजालले आफुले केन्द्रीय सदस्यमा जितेपछि समग्र जिल्लाका व्यापारीको हक हितमा इमान्दारी पूर्वक काम गर्ने बताए ।
‘ मेरो व्यापारी साथीहरुलाई आग्रह छ । मलाई निर्वाचित अत्यधिक मतले बिजयी गराउनु होस । म तपाँईहरुको हक हितको लागि सशक्त रुपमा केन्द्रमा वकालत गर्ने छु,’ रिजालले भने ।
प्रदेश राजधानीको केन्द्र समेत दाङ भइसकेको हुँदा अब यहाँ ठूला होटेल, लज, रेष्टुरा लगाएका दुरगामी महत्वका संरचनाहरु निर्माणमा व्यापारीहरुको ध्यान जान जरुरी रहेको बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा वन्द रहेको दाङको एक मात्रै टरिगाउँ विमानस्थलमा विमान सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका रिजालले टरिगाउँ एयरपोर्टका स्तरबृद्धिका लागि दर्जनौं पटक डेलिगेसन गएका थिए ।
उनले जिल्लाको विकाशका लागि नारायणपुरमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माण र तुलसीपुरको एरयपोर्टको विस्तार आवश्यक रहेको हुँदा अवपनि त्यो कार्यका लागि राज्य पक्षलाई घचघच्याउन अघि सर्ने बताए ।
रिजालकै कार्यकालमा तुलसीपुरको दुधेनामा बहुआयामिक सभाहल निर्माण भएको हो । क्लिन तुलसीपुर ग्रित तुलसीपुरका अभियान्त समेत रहेका रिजालले व्यापारीहरुले व्यापार मार्फत आर्जन गरेको रकमको केही हिस्सा सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्यमा पनि लगाउन आवश्यक रहेको धारणा राखे ।
उनको सल्लाहमा तुलसीपुरमा क्रियासिल लाइन्स, लिया, रोटरी जस्ता क्लवहरुले राप्ती प्रादेशिक अस्पतालमा आइल्याण्ड निर्माण गर्नुका साथै एम्बुलेन्स पार्किङ स्थलको समेत व्यवस्था गरेको थियो ।
‘ हामीले समाजवाट लिने मात्रै हैन दिनेपनि हो भन्ने भावनाले काम गर्न जरुरी छ,’ रिजालले थपे ‘ कोरोनाका कहरका बीचमा तुलसीपुर उद्योग वाणिज्य संघले बटुवा र यात्रुलाई तुलसीपुरमा मेस चलाएर निशुल्क खानाको व्यवस्था गरेको हो ।’
त्यतिबेला रिजालले सुरुवातका एक हप्ता भन्दा बढी समय निशुल्क रुपमा व्यक्तिगत रुपमै रासनको व्यवस्थापन गरेका थिए ।जिल्लाका प्रमुख जलाधारहरु बबई र राप्ती नदीमा २०७०÷०७१ मा बाढीले बितण्ड मच्चाउँदा रिजाल लगाएका व्यापारिक नेताहरु आफैं खाद्यान्न तथा अत्याबश्यक सामाग्री बोकेर जनताका घर आँगनमा पुगेका थिए ।
२०७२ सालका विनासकारी भूकम्पमा समेत जिल्ला बाहिर तुलसीपुर उद्योग वाणिज्य संघ खाद्यान्न तथा खाने पानी पठाएको थियो । त्यो सबै काम रिजालकै नेतृत्वमा भएको उनी निकटका मानिसहरु बताउँछन् । रिजाल जिल्लामा युवामाझ निकै लोकप्रिय छन् ।
