काठमाण्डौ,कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन ।
बुधबार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन ।
पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन ।
उनले भने, ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ रु राजीनामा दिन मिल्छ रु मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि नागरिकको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले एक थरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए । उनले भने, ‘एकथरी अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन् कोही ।’
