२०८३ असार २८ गते आइतवार

नेपालको नयाँ नक्सा समेटिएको निशान छाप पारित


काठमाडौं,जेठ ३१ । नयाँ नक्सा समेटिएको निशान छाप शनिवार सर्वसहमतिमा पारित भएको छ । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसहमतिले पारित गर्दै नेपालको नयाँ नक्सा समेटिएको निशान छाप पारित गरेको हो । प्रतिनिधि सभामा उपस्थित २५८ सांसद मध्य सबैले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन ।

त्यसको विपक्षमा कसैको मत परेन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेर सर्वसहमतिमा नेपालको नयाँ नक्सा पारित गरेका हुन । सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो।

जेठ ७ गते सरकारले नयाँ नक्सा जारी गरेको थियो । जसमा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश गरिएका छन् । त्यसअघिको नक्सामा उक्त क्षेत्रहरु समावेश गरिएको थिएन । सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो। संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची – ३ मा नेपालको निशान छाप रहेको छ। शनिवार पारित नयाँ नक्सा सहितको निशान छाप अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।

गिरीद्धारा बहिस्कार
त्यो प्रक्रियामा समाजजवादी पार्टीकी सांसद सरिता गिरी भने त्यसमा सहभागि भइनन् । मत विभाजनको प्रक्रिया सुरु हुनु भन्दा पहिले नै उनी बैठक छोडेर बाहिर गएकी थिइन । त्यसअघि गिरीले राखेको संशोधन प्रस्ताव सभामुखले अस्विकृत गरिदिएका थिए । त्यसपछि उनी बैठकबाट बाहिरिएकी थिइन ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *