
दाङ, साउन २७ । घोराहीको एक सामुदायिक विद्यालयमा पढाउने एक शिक्षक १० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार शिक्षक गणेश केसीलाई १० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको नेपालगञ्जस्थित टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ को माध्यमिक विद्यालय रझेना मावि राहत दरबन्दीमा कार्यरत शिक्षक केसीलाई पक्राउ गरेको हो।
रुकुमको सिन्ने घर भएका शिक्षक केसी अंग्रेजी शिक्षक हुन्। उनले विद्यालयमा सञ्चालन भइरहेको सिभिल इञ्जिनियरिङ प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै रुकुमकै एक विद्यार्थीबाट १० हजार रुपैंया घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जानकारी दिएको छ । घोराहीको एक होटेलमा घुस बाफतको १० हजार रकम बुझ्दै गर्दा शिक्षक केसी पक्राउ परेका हुन । पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।