
तुलसीपुर, मंसिर १३ ।
तुलसीपुर उपमहानगरपालिका –३ गहतेको ‘न्यू भिजन परम्परा युवा क्लब’ले तिहारमा खेलको भैलोबाट संकलित १५ लाख १० हजार रकमबाट तुलसीपुर – ९ स्थित ‘श्री सरस्वती चौतारा माध्यामिक बिद्यालय सल्ली वन’ लाई पौने ३ कठ्ठा जग्गा किनेर निशुल्क रुपमा प्रदान गर्ने तयारी गरेको छ ।
क्लबका अध्यक्ष टंक मल्ल (सुशान्त) का अनुसार तिहारमा खेलेको भैलो कार्यक्रमबाट संकलित १४ लाख ३५ हजार रकम र बाँकी अपुग रकम क्लवले नै थपेर बिद्यालयका लागि पौने ३ कठ्ठा जग्गा खरिद गरि दान गर्न थालेको हो ।
क्लवबले जग्गा खरिदका पाँच लाख दश हजार रुपैयाँ बैना जग्गा धनी स्थानीय लालबहादुर चन्दलाई बुझाइ सकेका छ ।
यही मंसिर २५ गते भित्र बाँकी रकम बुझाएर जग्गा बिद्यालयले भोगचलन गर्न पाउने सहमति लिखित रुपमै गरिएको छ ।
क्लवका सदस्यहरुले गत तिहारमा लक्ष्मीपूजाको दिनदेखि तिहारको भोलिपल्ट अर्थात कात्तिक २६ गतेसम्म भैलो खलेका थिए । त्यो भैलोको संयोजक भने स्थानीय दीपक केसी थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जिवन केसीपनि क्लवले भैलो खेली संकलित रकमले बिद्यालयलाई जग्गा किनेर दान दिने अन्तिम तयारी भइ सकेको भन्दै खुसी साटे ।
उनको अनुसार बिद्यालयको निकै साँगुरो प्राङगन भएका कारण कुनैपनि अतिरिक्त क्रियाकलाप गर्न मिल्ने अवस्था थिएन । अब क्लवले भैलो खेली जग्गा प्रदान गरेका कारण सहज हुने अध्यक्ष केसीले आशा ब्यक्त गरे ।
सो मावि विद्यालयमा करिब साढे दुई सय जना बिद्यार्थी अध्यनरत रहेको अध्यक्ष केसीले जानकारी दिए ।

