२०८३ मङ्सिर ८ गते सोमवार

मैले पाउने सबै पाइसकेँ, अब देशलाई दिने हो – शेरबहादुर देउवा

तुलसीपुर , मंसिर ७ ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा पाउनुपर्ने सबै प्राप्त गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने बताएका छन ।
नेपाली कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको सोमबार दाङको भालुबाङमा उद्ेघाटन् समारोहलाई सम्बोधन गर्दै उनले पाँचपटक प्रधानमन्त्री भइसकेको हुँदा अब देशको सेवा गर्ने बताएका हुन ।
‘मैले पाउने सबै पाइसकेँ । पाँचपटक प्रधानमन्त्री भइसकेँ । त्योभन्दा पाउने के हो ? अब मैले देशलाई दिने हो,’ उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो । लोकतन्त्रको विकासका लागि लाग्ने हो । देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो ।’

देउवाले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रलाई अझ सुदृढ र अगाडि बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा आफू जोगिएको प्रसंगसमेत उल्लेख गरे । ‘मलाई जेनजीहरूले बचाएको कुरा सत्य हो । झन्डै मारिसकेका थिए । सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उनले भने ।

अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायत नेताहरुले सम्बोधन गरेका थिए ।
अधिवेशनमा जिल्लास्तरीय नेताहरूले आ–आफ्नो जिल्लाको राजनीतिक अवस्था, संगठन र आगामी रणनीतिबारे रिपोर्टिङ मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा अधिवेशन भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *