२०८३ असोज ४ गते आइतवार

पाल्पामा गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते


पाल्पा ,असोज ४ । पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पारी चालकसहित अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो साढे तीन बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ भालेबासमा दुर्घटना भएको हो ।

उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी खाम्चालाई उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते हुनेमा सवारी चालक पूर्वखोला गाउँपालिका–१ का करिब २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उनकी ७ वर्षीया छोरी सइरस सारु रहेका छन् ।

त्यस्तै, पूर्वखोला गाउँपालिका–४ की ५ वर्षीया सायरा खाम्चा घाइते भएको प्रहरीले जनाएको छ । सायरा मृतककी नातिनी हुन् ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *